यस्तो छ नेपालमा पुरूष वेश्याको संजाल,करीब २० हजार पुरुष वेश्याबृतीमा संलग्न

एकपटक सेवा दिएबापत १० देखि २५ हजारसम्म !

नेपालमा २ लाख यौन व्यवसायी छन् । जसमध्ये १० प्रतिशत अर्थात् २० हजार पुरुष यौन व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाको अध्ययनले देखाएको छ । बाँकी महिला, तेस्रोलिंगी र समलिंगी यौन व्यवसायी रहेका छन् । पुरुष यौन व्यवसायीबारे नेपाली समाज प्रायः अनविज्ञ भए पनि महिलाको यौन सन्तुष्टि पूरा गरिदिएबापत हजारौँ रकम लिने पुरुष यौन व्यवसायी ठूलो संख्यामा रहेको खुलासा भएको छ ।

नेपालमा रहेका २० हजार पुरुष यौन व्यवसायीमध्ये करिब ५० प्रतिशत पुरुष यौन व्यवसायी काठमाडौं केन्द्रित छन् । तीबाहेक अन्य पुरुष यौन व्यवसायी मोफसलका व्यस्त सहर तथा बोर्डरका बजारमा छन् । पुरुष यौन व्यवसायीका ग्राहक उच्च घरानादेखि उच्च ओहोदासम्ममा पुगेका केही महिला रहेको अध्ययनले देखाएको छ । लाहुरे जीवनको क्रममा विभिन्न मुलुकमा पुगेका पुरुषका श्रीमती, धनाढ्य वर्गका महिला, वैदेशिक रोजगारमा रहेका पुरुषका श्रीमती, श्रीमान्ले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिलो ग्राहक हुन् । पुरुष यौन व्यवसायीलाई कतिपय महिलाले घरमै बोलाएर तथा कतिपयले क्यासिनो, लक्जरियस होटेल तथा सुरक्षित स्थलमा बोलाएर यौन सन्तुष्टि लिने गरेका छन् ।

एकपटक सेवा दिएबापत १० देखि २५ हजारसम्म

पुरुष यौन व्यवसायीले एकजना महिलालाई यौन सन्तुष्टि दिलाएबापत एकपटकको १० हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । उनका अनुसार पछिल्लो समय संगठित रूपमा नै पुरुष यौन व्यवसायीहरू सक्रिय भएका छन् । बेरोजगारीका कारण पुरुष यौन व्यवसायमा सक्रिय भएको पाइएको छ । उनीहरूले विदेशमा गएका नेपालीका श्रीमती, आर्थिक रूपमा सम्पन्न परिवारका महिला, लाहुरेका श्रीमती तथा एकल महिलालाई मुख्य निशाना बनाएर मायाजालमा फसाउनेदेखि ग्राहक बनाउने गरेको पाइएको छ । अझ त्यस्ता समुदायका कतिपय महिलाले मसाज सेन्टर, बार तथा रेस्टुरेन्ट, होटेल, क्यासिनो तथा महिला यौन व्यवसायीमार्फत पुरुष यौन व्यवसायी खोज्ने गरेका छन् ।

पुरुष यौन व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधासमेत पाउने गर्छन् । केही पुरुष यौन व्यवसायीको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट र मोबाइल खर्चदेखि सपिङका लागि पैसा समेत महिला ग्राहकले दिने गरेका छन् ।

ऋण तिर्न यौन व्यवसायमा युवक

जापान जानका लागि गुल्मीका रोहन (नाम परिवर्तन) ले गाउँघरमा भएको पाखोबारी धरौटीमा राखेर जेनतेन १५ लाख ऋण निकाले । उनले दलालमार्फत सबै कागजी प्रक्रिया पूरा गरे । दलालकै लहलहैमा जापान जाने भन्दै १५ लाख ऋण लिई आफ्नी वृद्ध तथा मुटुरोगी आमा छोडेर उनी काठमाडाैँ हुँदै भारतको दिल्ली पुगे ।

जापान लैजाने प्रलोभन देखाउने दलाल त्यहाँबाट सम्पर्कविहीन भएपछि ती गुल्मेली युवक अन्ततः काठमाडाैँ फर्किए । गाउँघरमा जापान जान्छु भनेर हिँडेका ती युवक समाजले हँसिमजाक गर्ने र १५ लाख रुपैयाँ ऋण कसरी तिर्ने भन्ने सोचेर गाउँ फर्किएनन् । उनी काठमाडाैँकै माछापोखरी क्षेत्रमा लुकेर बसे । जापानका विभिन्न सहरका फोटोमा फोटोसपमार्फत मिलाएर आफ्नो फोटो पोस्ट गर्दै आफू जापानमा रहेको जानकारी साथी तथा आफन्तलाई फेसबुकमार्फत गराए । यसो गर्नुको पछाडि आफू जापानमै रहेको खबर मुटुरोगी आमाले थाहा पाउन् र छोराले कमाउनेछ भन्नेमा ढुक्क होउन् भन्ने थियो । अर्कोतर्फ ऋणले उनको मन भतभती पोलिरहेको थियो ।

डिग्री पढ्दै गर्दा छाडेर जापान जाने सपना बुनेका र अन्त्यमा काठमाडाैा माछापोखरी, नयाँबसपार्क क्षेत्रमा बस्न थालेका ती युवकले पैसा कमाउने उपाय सोच्न थाले । त्यसपछि उनी महिला यौनकर्मीको सम्पर्कमार्फत ग्राहक खोज्न थाले । महिला यौनकर्मीमार्फत उनले पुरुष यौनकर्मी पनि हुन्छन्, उनीहरूले हजारौँ लिएर महिलाको यौन आवश्यकता पूरा गरिदिन्छन् भन्ने थाहा पाए । त्यसपछि पुरुष यौन व्यवसायीको भिडमा उनी पनि ग्राहक खोज्न थाले ।

अहिले उनका ५ देखि १० जना महिला निजी ग्राहक छन् । तिनै महिलालाई यौन सन्तुष्टि दिन उनलाई भ्याइनभ्याई छ । एकजनालाई एकपटक यौन सन्तुष्टि दिलाएबापत उनले १० हजार रुपैयाँ लिने गरेका छन् । कोहीसँग भने उनी एक दिनको २५ हजार रुपैयाँसमेत लिने गरेको बताउँछन् । आफ्नो नाम र पूरा ठेगाना नबताउने सर्तमा भेटिएका उनले भने, ‘महिलालाई यौन सन्तुष्टि दिलाएर नै मैले ७ लाख रुपैयाँ ऋण तिरिसकेँ । अब बाँकी ऋण पनि एक वर्षभित्रमा तिरिसक्छु ।’

उनी आफ्ना ग्राहक महिलामाझ रोहन नामले चिनिन्छन् । भन्छन्, ‘मैले यौन सन्तुष्टि पूरा गरिदिएबापत पाउने रकम त छँदै छ, त्योबाहेक पनि म्याडमले अरू बक्सिस दिनुहुन्छ ।’ उनी अझै जापानमै छु भनेर गाउँघरतिर बताइरहेका छन् । आफ्नो यो व्यवसाय गाउँघरमा थाहा पाए बेइज्जत हुने र आमाले थाहा पाए त झनै हार्टअट्याक भएर आमाको मृत्यु हुने डर उनीमा छ । भन्छन्, ‘अहिले ऋण तिर्न नै बाँकी छ । ऋण तिरिसकेपछि बाँकी जीवनबारे सोचौँला ।’

५५ वर्षीय प्रोफेसर पुरुष यौन व्यवसायी

सुन्दा अनौठो र काल्पनिकजस्तो लाग्ने यस्ता घटना नेपाली समाजमा पछिल्लो समय बढिरहेको पाइएको छ । ५५ वर्षीय एकजना वृद्ध प्रोफेसर, जो पैसा लिएर विभिन्न महिलाको यौन सन्तुष्टि पूरा गरिरहेका छन् । रक्षा नेपालकी अध्यक्ष मेनुका थापाका अनुसार काठमाडांैैको एक प्रतिष्ठित कलेजमा पढाउने प्रोफेसर उनको सम्पर्कमा छन् । जो यौन व्यवसायबाट आफूलाई अलग गर्न चाहन्छन् । तर, उनी सकिरहेका छैनन् । अहिले उनी रक्षा नेपालकै सम्पर्कमा साइकोलोजिकल ट्रिटमेन्ट गराइरहेका छन् ।

यस्तो छ प्रोफेसरको वास्तविकता

१४ वर्षको उमेरमा नै विवाह भएकाले प्रोफेसरले अन्य युवतीसँगको प्रेमबारे जीवनमा कहिल्यै सोचेनन् । युवावस्थादेखि नै अध्यापन पेसामा लागे । विभिन्न विषयको थेसिस तयार पार्नेलगायत शैक्षिक कामकै सिलसिलामा उनका विद्यार्थीले उनलाई फोन गर्थे । उनकी श्रीमती एकदमै शंकालु । विद्यार्थीको फोन आउँदा पनि कुनचाहिँ ‘यौनकर्मी’को फोन आयो भन्दै श्रीमान्लाई कराउने, गालीगलोज गर्ने गर्थिन् । ती प्रोफेसर भने यस्ता कुरामा श्रीमतीसँग झगडा गर्दा समाजमा नकारात्मक सन्देश जानेमा सचेत थिए । यसकारण उनले सधैँजसो श्रीमतीले अन्दाजमा शंका गर्दा र आरोप लगाउँदा कहिल्यै कडा प्रतिकार गरेनन् । श्रीमतीको शंकाको दृष्टिकोण सधैँझैँ रहिरहेपछि उनले विक्षिप्त भएर आफ्नो मनको कुरा बुझिदिने महिला पार्टनरको खोजी गर्न थाले । उनका दुई छोरामध्ये एकजना अस्ट्रेलिया र अर्का युकेमा छन् । श्रीमतीसँग छोडपत्रकै अवस्थामा पुगे पनि छोराहरूको आग्रहमा उनले त्यो कदम चालेनन् ।

नभन्दै उनी आफूले अध्यापन गराइरहेको क्याम्पसको एकजना महिला शिक्षिकासँग नजिकिन थाले । ती शिक्षिकाका श्रीमान् पनि जागिरको सिलसिलामा घरबाहिर रहेका कारण उनीसँग प्रोफेसरको घुलमिल बाक्लिन थाल्यो । सम्बन्ध बाक्लिएसँगै उनीहरूबीच यौनसम्पर्क भयो । ती प्रोफेसरले सोही कलेजमा अध्यापन गराउने अन्य शिक्षिकालाई पनि निसाना बनाउन थाले । उनी लगभग ‘यौनलत’मा फसिसकेका थिए । अन्य केही शिक्षिका जसका श्रीमान् जागिरको सिलसिलामा बाहिर रहेका वा अन्य कारण मुलुकबाहिर रहेका थिए । त्यस्ता शिक्षिकालाई पनि उनले आफ्नो ग्राहक बनाए ।

श्रीमतीको एकोहोरो शंका सहन नसकेर उनी घरमा बस्न छाडिदिए । छोराहरूलाई भन्ने वेलामा छुट्टै कोठा लिएर बसेको बताए पनि उनी पालैपालो तिनै महिलाको घरमा बस्थे । घरका अन्य सदस्यले पनि ५५ वर्षीय प्रोफेसर आएको, बसेकोमा कुनै शंका गरेनन् । किनकि उनको उमेरसँगै शरीर पनि पाको बन्दै थियो । घरबाट बाहिर बसेको र छोराहरूको कमाइ पनि अहिलेसम्म नखाएको बताउने ती प्रोफेसरले आफूले यौन सन्तुष्टि पूरा गरिरहेका महिलाबाट आवश्यक पर्ने पैसा लिने गरेको बताए ।

यसरी आए रक्षा नेपालको सम्पर्कमा

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको अन्तर्वार्ता विभिन्न सञ्चारमाध्यमबाट हेरेपछि आफू पनि सुध्रिने भन्दै ती प्रोफेसर मेनुकाको सम्पर्कमा आए । १४ वर्षको उमेरदेखि लामो समयसम्म श्रीमतीसँग मात्र यौनसम्पर्कमा रहेका ती प्रोफेसर यौन व्यवसायी हुनुपरेकोमा पछुतो मान्छन् । आफूले श्रीमतीलाई धोका दिएको भन्दै उनी पछुताउने गरेका छन् । उनी अहिले साइकोलोजिकल ट्रिटमेन्टमा छन् । रक्षा नेपालकी अध्यक्ष थापा भन्छिन्, ‘आफ्नो श्रीमान्ले थिचोमिचो गरेको भनेर महिला रुवाबासी गर्छन् र त्यो सुहाउँछ । कतिपय पुरुष अनेक पारिवारिक समस्याबाट मानसिक रूपमा विक्षिप्त भएका हुन्छन् । उनीहरूले मनका कुण्ठा कतै व्यक्त गर्न सकिरहेका हुँदैनन् । जसका कारण विवेक गुमाएर यस्ता क्रियाकलापमा संलग्न हुन्छन् ।’

अयोग्य लडाकुको नयाँ व्यवसाय

सिन्धुपाल्चोक ज्यामिरेका पदम (नाम परिवर्तन) कुनै समय माओवादी लडाकु बनेर युद्धमा होमिएका थिए । पछि सेना समायोजनका क्रममा अयोग्य घोषित भएपछि विरक्तिएर काठमाडांैै आए । त्यसपछि नाङ्लो पसल चलाउँदा–चलाउँदै उनी यौनकर्मी महिलाको संगतमा पुगे र पैसा तिरेर यौन सन्तुष्टि पूरा गराउने महिला पनि हुन्छन् भन्ने थाहा पाए । अनि उनी पनि यौन व्यवसायी बने । तीनजना छोराछोरीका बाबुसमेत रहेका पदमले अहिले धनाढ्य परिवारका महिलालाई यौन सन्तुष्टि दिन्छन् । यौन व्यवसायबाट अहिले उनले लाखौँ सम्पत्ति जोडेका छन् ।

रेस्टुरेन्टमा भाँडा माझ्दामाझ्दै यौन व्यवसायी बनेका बालक

करिब १५ वर्षअघि काठमाडाैँको एक रेस्टुरेन्टमा भाँडा माझ्ने कामदारका रूपमा छिरेका १३–१४ वर्षीय बालक अहिलेका खुंखार पुरुष यौन व्यवसायी बनेका छन् । द्वन्द्वकालमा माओवादीले आफूहरूसँग हिँडाउन खोजेपछि मुस्किलले उदयपुर घरबाट भागेर काठमाडाैँ आएका तामाङ थरका ती किशोरले केही समय भाँडा नै माझिरहे । पछि उनी किशोरावस्थाबाट वयस्क हुँदै गए, त्यसपछि उनी पुरुष यौन व्यवसायी बने ।

आजभोलि उनी स्टाइलिस कपाल पारेर महँगा कपडामा ठाँटिएर महिला ग्राहक खोजी गर्न निस्कन्छन् । उनले सेवा दिने महिलाको उमेर ४० कटेको छ । उनले रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई दिएको जानकारीअनुसार नेपाली चलचित्रकी एक अभिनेत्रीलाई समेत सेवा प्रदान गरिसकेका छन् ।

हेन्डसम यौन व्यवसायी

काठमाडाैँको मैतीदेवीमा डेरा गरी बस्ने एकजना मंगोलियन अनुहारका युवा बिहानै उठेर काजु, बदाम तथा दूधजस्ता पौष्टिक आहार खान्छन् । हट्टाकट्टा, खाइलाग्दा ज्यानका उनी जिम धाउँछन् र महँगा कपडा पहिरिएर शरीरमा सेन्ट छर्किएर नित्यकर्ममा निस्कन्छन् । उनको नित्यकर्म आफ्नो सम्पर्कमा रहेका करिब आधा दर्जन महिलाको यौन चाहना पूरा गर्नु हो । उनी जाँडरक्सी, चुरोट केही सेवन गर्दैनन् । उनलाई पुरुष यौन व्यवसायी हुन् भनेर पत्याउन गाह्रो हुन्छ । तर, उनको वास्तविक दिनचर्या भनेको महिलाको यौन सन्तुष्टि पूरा गरिदिने र पारिश्रमिक लिने हो ।

श्रीमान्सँग असन्तुष्टिपछि यौनपार्टनर

कतिपय महिलाहरू श्रीमान्सँगको सम्बन्धमा सन्तुष्ट हुन नसकेपछि पुरुष वेश्या तथा सेक्स पार्टनरहरू बनाउने गर्दछन् । काममा व्यस्त हुने कतिपय व्यक्तिका श्रीमतीहरूले समेत युवकहरूलाई आफ्नो पार्टनर बनाउने गरको छन् । त्यस्तै डिभोर्स गरेका महिलाहरू पनि स्वतन्त्र जीवन जिउन यौनपार्टनर तथा पुरुष यौनकर्मीहरूसँगै रमाउने गरेका छन् ।

ग्राहक भेटिसकेपछि फुत्कन गाह्रो रहेको पुरुष यौन व्यवसायीको बुझाइ

पुरुष यौन व्यवसायी कति छन् भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन । व्यस्त बजार, मानिसको चहलपहल बाक्लो हुने ठाउँ नै यौन व्यवसायीको मुख्य अखडा हुने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशी बताउँछन् । उनका अनुसार मायाजालमा फसाएर महिलासँग शारीरिक सम्पर्क गर्नेदेखि धनसम्पत्ति हात पार्ने पुरुषको पनि कमी छैन । उनी भन्छन्, ‘पुरुष यौन व्यवसायी पनि हुन्छन् भन्ने कुरा झट्ट विश्वास गर्न गाह्रो हुन्छ । तर, हुन्छन् भन्ने मैले पनि मिडियामा सुनेको छु । विभिन्न सामाजिक सेवामा कार्यरत संघसंस्थाको अध्ययनले पनि पुरुष यौन व्यवसायी हुने गरेको देखाउँछ ।’

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबरलगायत फोनमार्फत पुरुष यौन व्यवसायीले सम्पन्नशाली, लाहुरेका श्रीमती, यौन चाहना पूरा गर्न चाहने महिलाको खोजी गर्छन् । उनीहरूले अनेक मीठा कुरा गरेर मायाजालमा फसाउने गरेका छन् । जसले गर्दा पछिल्लो समय वैदेशिक रोजगारीमा गएर फर्किएका कतिपय पुरुषको साथमा न श्रीमती हुन्छन्, न त सम्पत्ति नै । पुरुष यौन व्यवसायीको सक्रियताले समाजमा विचलन ल्याइरहेको विभिन्न सामाजिक संघसंस्थाको बुझाइ छ ।

थरीथरीका यौन व्यवसायी

नेपाललगायत विश्वका हरेक मुलुकमा यौन व्यवसायी हुन्छन् । जहाँ यौन व्यवसायीलाई उच्च, मध्यम र रोड लेभलका गरी विभाजन गरिएको हुन्छ । विभिन्न उच्च ओहोदामा पुगेका व्यक्तिदेखि कलाकार उच्च वर्गको यौन व्यवसायीमा गनिन्छन् । त्यस्ता उच्च वर्गका यौन व्यवसायी नेपालमा पनि रहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउँछिन् । यस्ता उच्च वर्गका यौन व्यवसायीले एकपटक यौन सन्तुष्टि पूरा गरिदिएबापत वा लिएबापत लाखौँ खर्चिने गरेका छन् । मध्यम वर्गका यौन व्यवसायी भने ठूला रेस्टुरेन्ट, बार, होटेलहरूमा पाइन्छन् । तर, रोड लेभलका यौन व्यवसायी सडकपेटी तथा खुला बजारमै ग्राहक खोजिरहेका हुन्छन् ।
पुरुष यौन व्यवसायी सिरियस हुँदैनन्

स्वभावैले महिलाले भन्दा पुरुषले आफ्नो यौन आकांक्षा छिटो प्रकट गर्छन् । यौन सन्तुष्टि पनि पूरा हुने र राम्रो रकम पनि पाइने भन्ने मामिलामा पुरुष यौन व्यवसायी आफ्नो जीवनप्रति गम्भीर देखिँदैनन् । तर, महिला यौन व्यवसायी जीवननिर्वाहका लागि अन्तिम विकल्पका रूपमा त्यस्तो पेसामा लागेकाहरू भेटिन्छन् । उनीहरू आफ्नो अस्मिता अरूलाई सुम्पिनुपरेकोप्रति गम्भीर हुने गरेको पाइन्छ ।

विदेशी पुरुष यौनकर्मी ठमेलमा छ्याप्छ्याप्ती

सागर रोक्का (नाम परिवर्तन)ले सुदूरपश्चिमबाट आएर ठमेलको एक होटेलमा ग्राहक खोज्न थालेको करिब ३ वर्ष भयो । उनी विदेशी गेस्टहरूसँग दिनहुँ सम्पर्कमा रहन्छन् । भारत, पाकिस्तान, चीनलगायत विभिन्न मुलुकबाट आएका पर्यटकमध्ये अधिकांश पर्यटकले नेपाली महिलासँग यौनसम्पर्क राख्ने इच्छा व्यक्त गर्छन् । सोक्रममा सागरले एक रातको १० हजार रुपैयाँसम्म आफ्नो पारिश्रमिक तोक्ने नेपाली युवती मिलाइदिन्छन् । जसमार्फत सागरले कमिसन पाउँछन् । यसरी सागरजस्ता धेरै पुरुष यौन दलाली काठमाडाैँका ठमेल, नयाँ बसपार्क, रत्नपार्कलगायतका क्षेत्रमा हुने उनी बताउँछन् । एउटा ग्राहक खोजिदिएबापत महिला यौन व्यवसायीले उनीहरूलाई २ सयदेखि ५ हजार रुपैयाँसम्म दिने गरेका छन् ।

नेपालमा करिब २ लाख यौनकर्मी

नेपालमा ५० हजारभन्दा बढीको संख्यामा महिला यौनकर्मी रहेका छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारमा गरेको राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा कम्तीमा ४३ हजार ८ सय २९ देखि बढीमा ५४ हजार २ सय ७ जना महिला यौनकर्मी छन् । पुरुष समलिंगी, तेस्रोलिंगी र पुरुष यौनकर्मीको संख्या नेपालमा कम्तीमा ८८ हजार ९ देखि बढीमा १ लाख १२ हजार १ सय ५० जना रहेको केन्द्रको अनुमान छ । जसमध्ये पुरुष यौनकर्मीको संख्या २० हजार ६ सय ४२ छ । त्यस्तै २४ हजार २ सय १६ तेस्रोलिंगी र ६७ हजार २ सय ९२ जना समलिंगी रहेका छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र तथा स्वास्थ्य मन्त्रालयले ४४ जिल्लामा गरेको अध्ययनअनुसार महिला यौनकर्मी सबैभन्दा बढी काठमाडौंकेन्द्रित देखिएका छन् । सो अध्ययनले काठमाडौंमा मात्र ११ हजार ६ सय ७० महिला यौनकर्मी रहेको अनुमान गरेको छ ।
नेपालमा लागुऔषध प्रयोगकर्ता

नेपालमा लागुऔषध सेवन गर्ने महिला तथा पुरुषको संख्या करिब ३५ हजार छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुगमन तथा मूल्यांकन शाखाका संयोजक उपेन्द्र श्रेष्ठले सुईद्वारा लागुऔषध प्रयोग गर्नेको संख्या करिब ३४ हजार ४ सय ८७ रहेको बताए । जसमध्ये ३० हजार ५ सय ६१ पुरुष र ३ हजार ९ सय २६ महिला छन् ।

९२ जना पुरुष यौनकर्मीमा एचआइभी संक्रमण

नेपालमा एचआइभी संक्रमितको संख्या डरलाग्दो छ । निजी तथा अन्तर्राष्ट्रिय संघसंस्थाले गर्ने सर्वेक्षणअनुसार नेपालमा एचआइभी संक्रमितको संख्या करिब एक लाख पुग्न जान्छ । तर, सरकारी तथ्यांकअनुसार सरकारी सेवामा आएर परीक्षण गराउनेमध्ये नेपालमा एचआइभी संक्रमितको संख्या २८ हजार ८ सय ६५ मात्र छ । जसमध्ये १७ हजार ९ सय ४९ पुरुष, १० हजार ८ सय २४ महिला र ९२ जना तेस्रोलिंगी एचआइभी संक्रमित छन् । ९२ जना पुरुष यौनकर्मी, १ हजार २ सय ७६ जना महिला यौनकर्मी र ४ जना तेस्रोलिंगी यौनकर्मी गरी जम्मा १३ सय ७२ यौनकर्मीमा एचआइभी संक्रमण पाइएको छ । सुईद्वारा लागुऔषध प्रयोग गर्ने ३ हजार ५३ जना पुरुष, ८८ जना महिला र ९ जना तेस्रोलिंगी गरी जम्मा ३ हजार १ सय ५० लागुऔषध प्रयोगकर्ता एचआइभीबाट संक्रमित छन् ।

काठमाडाैँमा २ हजार बालिका यौन व्यवसायमा

काठमाडाैँ उपत्यकामा २ हजारभन्दा बढी बालिका यौन व्यवसायमा संलग्न रहेको एक अध्ययनले देखाएको छ । बालयौन शोषणबारे एकीकृत तथ्यांक अभावका कारण यो संख्या अझ बढी हुन सक्ने सरोकारवाला निकायका प्रतिनिधि बताउँछन् । डान्सबार, रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, दोहोरी रेस्टुरेन्ट, भट्टीपसल, खाजाघर, केही चियापसल र मसाज पार्लरलाई वयस्कले मनोरञ्जन गर्ने स्थल भन्ने गरिन्छ । सो स्थानमा ११ देखि १३ हजार महिला कार्यरत छन् । त्यसमध्ये १८ वर्षमुनिका एकतिहाइ बालिका रहेको अनुमान छ ।

केन्द्रीय बालकल्याण समितिले सडक बालबालिकालाई पुनस्र्थापित गर्ने उद्देश्य लिए पनि अझै सयौँ बालबालिका सडकमा छन् । जसमध्ये अधिकांश बालिका कोही सडकमा त कोही विभिन्न गोप्य सूत्रमार्फत डान्सबार तथा रेस्टुरेन्टलगायतका मनोरञ्जन गर्ने स्थलमा यौन व्यवसायमा संलग्न रहेको बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको अध्ययनको निष्कर्ष छ ।

महिला यौनकर्मीको संख्या ६ वर्षमा दोब्बर

६ वर्षमा नेपालमा यौनकर्मी महिलाको संख्या दोब्बरले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा हालै गरेको एक अध्ययनले नेपालमा यौनकर्मीको संख्या सन् २०१० को भन्दा दोब्बर भएको देखिएको छ । सन् २०१० मा यौनकर्मीको संख्या २७ हजार १ सय ९७ जना रहेकोमा सन् २०१७ मा यो संख्या बढेर ५४ हजार २ सय ७ पुगेको छ ।नेपालमा महिला यौन व्यवसायीका बारेमा धेरै लेखिए, बोलिए पनि विशेषगरी तेस्रोलिंगी तथा समलिंगी यौन व्यवसायीबारे सामान्य मानिसले झट्ट विश्वास गर्दैनन् । अझ पुरुष यौन व्यवसायी हुन्छन् भन्नेबारे त पत्याउनै मुस्किल छ । तर, मुलुकमा बढिरहेको बेरोजगारी, आर्थिक अभावलगायतका कारण ठूलो संख्यामा पुरुष यौन व्यवसायमा लागेका छन् ।

जसमार्फत उनीहरूले महिलामार्फत हजारौँदेखि लाखौँ कमाइरहँदा सामाजिक विकृति बढाइरहेको मात्र छैन, वैदेशिक रोजगारीका लागि वा कामको सिलसिलामा घरबाहिर रहेका कतिपय दाजुभाइको भविष्य नै बर्बाद गराइरहेको छ । नेपालमा आत्मसम्मानका साथ बाँच्न सक्ने रोजगारीको अवसर सिर्जना गर्ने हो भने बाध्य भएर जीवननिर्वाहका लागि यौन व्यवसायमा लागेकाहरूले सही बाटो अवश्य अवलम्बन गर्नेछन् । यसतर्फ राज्य गम्भीर एवं जिम्मेवार बन्न आवश्यक छ ।

महिलाभन्दा पुरुष यौन व्यवसायी मालामाल

महिला यौन व्यवसायीको तुलनामा पुरुष यौन व्यवसायी थोरै छन् । महिला यौन व्यवसायी सडकपेटीमै बसेर ग्राहक खोजिरहेका हुन्छन् । ग्राहकले पनि मोलमोलाई गरेर थोरै रकममा यौन सन्तुष्टि लिने गरेका महिला यौन व्यवसायी बताउँछन् । तर, पुरुष यौन व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधासमेत पाउने गरेका छन् । केही पुरुष यौन व्यवसायीको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट खर्च, मोबाइल खर्चदेखि सपिङका लागि पैसा महिला ग्राहकले दिने गरेका छन् । प्रायः महिला ग्राहक पुरुष यौन व्यवसायीलाई आफ्नो निजी बनाउन चाहन्छन् । आफ्नो पार्टनरले आफूलाई मेन्टेन गरेर हिँडेको हेर्न पनि महिलाले त्यस्ता पुरुष यौन व्यवसायीलाई धेरै रकम खर्चिने गरेका छन् । पुरुष यौन व्यवसायीले पनि आफूलाई ‘हेल्दी’ राख्न विशेष ध्यान दिने गर्छन् ।

मोडल यौनकर्मीको माग धेरै ?

कलाकारिता तथा मोडलिङमा आबद्ध केही युवकहरू पनि यस्तो पेसामा आबद्ध छन् । धनी महिलाहरूले प्रायः आकर्षक युवाहरूलाई रोज्ने भएकाले मोडलहरू उनीहरूको पहिलो रोजाइमा पर्ने गरेका छन् । एक टेलिफिल्ममा काम गर्ने पोखरेल थरका मोडल लामो समयदेखि पुरुष यौनकर्मीका रूपमा चर्चित छन् । यो क्षेत्रमा उनको समूह नै रहेको स्रोत बताउँछ । केही चलेकै नायकहरूलाई समेत महिलाहरूले पैसा दिएरै आफूसँग विदेश घुम्न जाने प्रस्ताव राख्ने गर्दछन् ।

सरकारी तथ्यांकमै २०,६४२ पुरुष यौनकर्मी

स्वास्थ्य विभागअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको पछिल्लो अध्ययनले पनि पुरुष यौनकर्मीको संख्या २० हजार ६ सय ४२ देखाएको छ । केन्द्रका अनुगमन तथा मूल्यांकन शाखाका संयोजक उपेन्द्र श्रेष्ठले नेपालमा २ लाखभन्दा बढी यौनकर्मी देखिएको र त्यसमा पनि सहरमा मात्र नभई विभिन्न सीमाक्षेत्र, राजमार्ग तथा ग्रामीण क्षेत्रमा समेत यौनकर्मी देखिन थालेकाले सरकारले सचेतनाका कार्यक्रम गरिरहेको बताए ।

उनले भने, ‘महिला यौन व्यवसायी नेपालमा धेरै संख्यामा छन् भन्ने कुरा नयाँ होइन । तर, पछिल्लो अध्ययनले पुरुष तथा समलिंगी, तेस्रोलिंगी यौनव्यवसायीको संख्या समेत बढ्दोक्रममा रहेकाले केन्द्रले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।’ उनका अनुसार केन्द्रले बिसिसी अर्थात् ‘बिहेबियर चेन्ज कम्युनिकेसन’ कार्यक्रम गर्दै आएको छ । जसअन्तर्गत कण्डम प्रयोगबारे सचेतनाका कार्यक्रम,कण्डम वितरण तथा एचआइभी एड्सबारे जनचेतनामूलक कार्यक्रम केन्द्रले गर्दै आइरहेको छ ।

म्यामका मायालु पार्टनर यसो भन्छन्

म काठमाडौंको मैतीदेवीमा डेरामा बस्छु । बिहानै उठेर करिब आधाघन्टा व्यायाम गर्छु । शरीरलाई फिट राख्न म बिहान व्यायामपछि काजु, बदाम तथा दूधलगायतको ब्रेकफास्ट लिन्छु । मेरो पकेटखर्च म्यामले दिनुहुन्छ । मैले उहाँबाहेक अरूसँग शारीरिक सम्पर्क राखेको थाहा पाउँदा म्याम रिसाउनुहुन्छ । तिमीलाई कति खर्च चाहिन्छ भन, तर अरूसँग यौनसम्पर्क नगर भन्नुहुन्छ । मेरा करिब आधा दर्जन महिलासँग सम्पर्क छ । मेरो घरखर्च, लवाइखुवाई, मोटरसाइकलमा तेलका लागि चाहिनेदेखि सेभ गर्न केही पैसासमेत मैले उनीहरूबाट नै पाउने गरेको छु ।

कस्तो हुन्छ सञ्जाल ?

पुरुष यौनकर्मीहरू ग्राहक खोज्दै हिँड्दैनन् । उनीहरूको सम्पर्क सञ्जाल हुन्छ । काठमाडौंका टप डिस्को तथा रेस्टुरेन्टहरूमा उनीहरू जाने गर्दछन् । धेरैजसो फोन सम्पर्कबाटै भेटघाट गर्दछन् । केहीले यही पेसाका लागि अपार्टमेन्ट लिएर बसेको स्रोत बताउँछ । पुरुष यौनकर्मी खोज्ने महिलाहरू होटेलमा जान नमान्ने भएकाले उनीहरू एकान्तस्थलका घर तथा फ्लाट नै लिएर बस्ने गर्दछन् ।

नयाँ पत्रिकाबाट कृष्ण कटेलकाे रिपाेर्ट ।।