दलहरूका घाेषणपत्र चुनावी कर्मकाण्डी र झुटको पुलिन्दा मात्रै

बालुवाको दाम्लो र हावाको झोलुंगोमा झुलेर विकासको लोरी गाँउदै

चुनाव स्थानीय तह । केन्द्रमा रहेको अधिकार गाउँमा लैजानु नै संघीय शासन प्रणालीले बोकेको मुख्य चुरो । तर दलहरुले भोट तान्न ल्याएका दलीय संकल्प पत्र हेर्दा लाग्छ– उनीहरु बालुवाको दाम्लो बनाएर हावाको झोलुंगोमा झुलेर विकासको लोरी गाइरहेका छन् । उनीहरूले ल्याएका संकल्पपत्रका कुरा हेर्ने हाे भने समास्या समाधान हैन झन बल्झिने संभावना देखिन्छ ।

जुन दलका नेताहरुले यस्तो घोषणापत्र ल्याए, तिनीहरु सबै सरकारको नेतृत्व लिइसकेका व्यक्ति हुन ।उनीहरूले सरकार चलाइसकेका हुन ।  सरकारी बजेट हाराहारी नै भारतसंग ब्यापार घाटा व्यहोरिरहेको यथार्थसंग उनीहरु घाँटीघाँटीसम्म परिचित छन् । हिङदेखि हर्दीसम्मका बस्तुमा नेपाली बजार आयातीत अर्थतन्त्रमा निर्भर छ । ४० लाख नेपाली जनशक्ति विदेशी भूमिमा खपत भइरहेको छ । देशमा रहेकाहरुलाई आकर्षित गर्ने कार्यक्रम कसैले ल्याउन सकेका छैनन् । उनीहरू अाफनाे जड बचाइ राख्ने  ध्याउन्नमा मात्रै छन ।

काँग्रेसको घोषणापत्रको आधा हिस्सा आफ्नै प्रशंसामा खर्चिएको छ । आफुले ल्याएको खुल्ला बजारले बजारका हरेक क्षेत्रमा प्रतिस्पर्धा कायम भई जनता लाभान्वित भएको उसको बुझाइ छ ।खासै नबिन कुरा केहि छैन अाैपचारीकता मात्रै छ । खुल्ला अर्थतन्त्र सकारात्मक भएपनि त्यसलाई अनुशासित र सन्तुलित राख्न गर्नुपर्ने प्रयासप्रति दलहरूले आँखा चिम्लिएको छन । जिल्ला अस्पतालमा डाक्टरी सेवा दिन नसकेको वर्तमानमा नाना, खाना र छानाका सम्पूर्ण अधिकार दिलाउने दलहरुको प्रतिवद्धता आफैमा हावादारी लाग्छन।

हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा फहराएका पानीजहाज दौडाउने आफ्ना अध्यक्ष केपी ओलीको रहरलाई एमालेले स्थानीय तहको घोषणापत्रमा पनि समेटेको छ ।  नेपाली जनताको आय ५ हजार डलर पुर्याउने, काठमाडौंमा रेल दौडाउने रहर एमालेले उल्लेख गरेको छ । त्यसको प्राविधिक पक्षमाथि कसैको ध्यान गएको देखिदैन ।

माओवादीले प्रचण्डपथलाई यो घोषणापत्रमा ब्यूँताएको भान पर्छ । प्रचण्डकै नेतृत्वमा सिंहदरवारको अधिकार गाउँ पुगेको, देशको आर्थिक विकास दर बढेको, उज्यालो अभियान सफल भएको जस्ता उपलब्धि समेटिएका छन् । एमाले, माओवादी केन्द्र पूँजीवादी खुल्ला अर्थतन्त्र स्वीकारी खाेक्राे राष्ट्रबादको नाराबाट पछि हट्दै गएको घोषणापत्रबाट प्रष्ट हुन्छ । उम्मेद्वार स्वयंले नपढेको चुनावी कर्मकाण्डी रुपमा आएका यी घोषणापत्र झुटको पुलिन्दा शिवाय केही होइन । यसले दलाल सताकाे पक्षपाेषण बाहेक अरू गर्ने देखिदैन ।