जब कार्की अदालत पुगिन्…….

काठमाडौं,महाअभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालत फर्किइन्, तर उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा विहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् । हाजिर गरेसँगै उनले नौवटा इजलास तोकेर मुद्दा बाँडफाँड गरिन् ।

न्यायाधीशहरुका लागि एकल र संयुक्त गरी नौवटा इजलास तोकेर उनी आफू भने कार्यकक्षमा फाइल हेरेर समय बिताइन् । सर्वोच्चमा सँधै चमक देखिने उनको अनुहार आइतबार अलि उदास थियो । अपराह्न ३ः४०मा उनी सर्वोच्चबाट बाहिरिइन् ।संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश कार्की निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली कामु प्रधानन्यायाधीश तोकिएका थिए । चार दिन कायममुकायम बनेका पराजुली आइतबार अदालत आएनन् ।

सर्वोच्च अदालतको वेबसाइटमा पराजुलीलाई कामु प्रधानन्यायाधीश भनेर उनको तस्बिरसमेत राखिएको थियो । आइतबार उनको नाम र तस्बिरसमेत हटाएर वरिष्ठतम् न्ययाधीशमा राखिएको छ ।आजको नयाँ पत्रिकामा खबर छ।