यस्ता छन नयाँ शक्तिको नजरमा चार ठूला दल

कांग्रेस : शासक पार्टी

कांग्रेस ०४६ यता सबैभन्दा बढी सत्तामा बस्ने र सरकारको नेतृत्व गर्ने पार्टी हो । यसलाई विगत तीन दशकको शासक पार्टी पनि भन्न सकिन्छ ।
००७ सालको राणाशाहीविरुद्धको संघर्ष र ०४६ सालको पञ्चायती निरंकुशताविरोधी आन्दोलनमा सकारात्मक भूमिका निभाएको कांग्रेसले संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रलाई आफ्नो औपचारिक सिद्धान्त मान्ने भए पनि परिस्थितिको चपेटामा परेर अनिच्छावश गणतन्त्रको आन्दोलनमा सामेल भयो । देशमा शासकीय स्वरूप परिवर्तन गर्न नदिने, विकृत संसदीय प्रणालीलाई कायमै राख्ने, जनताको सार्वभौमसत्तामा आधारित प्रत्यक्ष लोकतन्त्र अभ्यास गर्न बाधा सिर्जना गर्ने, पूर्ण समानुपातिक संसद् हुने निर्वाचन प्रणालीमा अनिच्छा व्यक्त गर्ने मुख्य दल पनि यही हो ।

एमाले : सामाजिक फासीवादी दिशामा

आफूलाई अझै पनि ‘कम्युनिस्ट’ भन्ने एमालेको सिद्धान्त, नीति तथा कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ प्रकारान्तरले ‘सामाजिक जनवाद’ र ‘युरो कम्युनिज्म’कै अर्को संस्करण बनेको छ । व्यवहारमा भने एमालेले ‘सामाजिक फासीवादी’ कार्यदिशा अवलम्बन गर्न थालेको छ । पहाड–मधेसबीचको मनोवैज्ञानिक विभाजनलाई गहिरो पार्ने, संघीयताको आन्दोलनलाई ‘जातीय’ आन्दोलनका रूपमा चित्रण गर्दै संघीयताप्रतिको अल्पज्ञान प्रस्तुत गर्ने, देशको राजनीतिक समस्या हल गर्न कहिल्यै आफूले कुनै सिर्जनशील प्रस्ताव नल्याउने, जहिल्यै प्रतिक्रियात्मक राजनीति गर्ने र देशलाई संकटमा पारिरहने, शासकीय स्वरूप परिवर्तन गर्ने पक्षमा अनिच्छा व्यक्त गर्ने आदि काम यो दलले गरिरहेको छ ।

माओवादी केन्द्र : अराजकतालाई प्रश्रय दिने शक्ति

रातारात क्रान्तिकारीबाट प्रतिक्रान्तिकारी रूपान्तरण गरेको शक्तिका रूपमा माओवादी केन्द्र सत्तालिप्साका लागि यावत् कुकर्म गर्ने, अपारदर्शी धन र भ्रष्टाचारमा लिप्त हुँदै जाने, संविधान संशोधनमार्फत देशलाई राजनीतिक निकास दिन दृढतापूर्वक उभिन नसक्ने, बाहिर–बाहिर राष्ट्रवादको कुरा गर्ने भित्रभित्रै विदेशी शक्तिकेन्द्रको कृपा र आशीर्वाद प्राप्त गर्न लम्पसार पर्ने, जालझेल र षड्यन्त्रमार्फत शक्तिमा टिकिरहन खोज्ने, देशका क्रान्तिकारी शक्तिहरूमाथि अनेक प्रकारले षड्यन्त्र र दमन गर्ने, राज्यका संस्थागत प्रक्रियालाई समाप्त पारी जताततै अराजकतालाई प्रश्रय दिने गरिरहेको छ । समग्रमा माओवादी केन्द्र क्रान्तिकारीहरूको कित्ताबाट उछिट्टिएर प्रतिक्रान्तिकारीहरूको टिममा सामेल हुन पुगेको एउटा थप खेलाडीजस्तो भएको छ ।

राप्रपा : राजनीतिक अस्थिरता बढाउने शक्ति

प्रस्ट दक्षिणपन्थी दल राप्रपा राजतन्त्र ब्युँताउने मुख्य एजेन्डा बोकेर त्यसलाई हिन्दुत्वको आवरणले ढाक्ने दुश्चेष्टा गरिरहेको छ । राप्रपाप्रति देशको आधुनिक जनमत र प्रगतिशील तप्काको खासै अपेक्षा छैन, चर्चा पनि गरिरहन जरुरी छैन । सत्ता राजनीतिमा ‘जता मल्खु, उतै ढल्कु’ गर्ने यो दल जतिवटा सत्तासमीकरण बने पनि, भत्किए पनि सदाबहार सत्तासाझेदारजस्तो बन्ने गरेको छ । संसदीय प्रणालीभित्र राजनीतिक अस्थिरता बढाउने, सत्ता गठबन्धनभित्र दबाब बनाएर आफ्ना पश्चगामी अपेक्षाहरूको परिपोषण गर्न यो दल उद्यत देखिन्छ ।
नयाँ पत्रिकाबाट