सैन्य ‘कू’ मा संलग्न चार हजार कर्मचारी बर्खास्त

 एजेन्सी,टर्कीमा असफल सैन्य ‘कू’ मा संलग्न थप ४ हजार सरकारी अधिकारीलाई बर्खास्त गरिएको छ । बर्खास्त गरिएकाहरुमा १ हजार न्याय मन्त्रालयका, यतिकै संख्याका सेना र सय भन्दा बढी एअर फोर्सका पायलट रहेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा रहेका धर्मगुरु फेत्तुल्लाह गुलेनसँग साँठगाठ रहेको आशंकामा ९ हजार प्रहरी अधिकृतको बर्खास्तगी र थप एक हजारलाई पक्राउ गरिएको केही समयपछि थप ४ हजार सरकारी अधिकारीलाई बर्खास्त गरिएको हो ।

आतंकवादी संगठनमा संलग्न रहेको र राष्ट्रिय सुरक्षामा चुनौती दिएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको सरकारको भनाइ छ । राष्ट्रपति रिसेप तैयप अर्दौगानले गत वर्षको ‘कू’ को प्रयासमा गुलेनमा संलग्नता रहेको आरोप लगाए पनि गुलेनले आरोप अस्वीकार गर्दै आएका छन् । शनिबारमात्र टर्कीमा अनलाइन इन्साइकोपिडिया विकिपीडियामाथि प्रतिबन्ध लगाइएको छ । अप्रिल १६ मा सम्पन्न जनमत संग्रहपछि टर्कीमा राष्ट्रपतिको शक्ति र अधिकार व्यापक बढेको छ ।