मौसम परिवर्तन : देशभर एकसाथ असिना,पानी

काठमाण्डौ, अकस्मात मौसम बदली हुँदा शनिबार राजधानी काठमाण्डौलगायत देशभर पानी परेको छ । पानी परेकाले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको महसुस भएको छ । तापक्रम धेरै तल नझरे पनि पानी परेका कारण वैशाख मध्यतिर पनि काठमाडौँ उपत्यकामा चिसोको अनुभव गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार साँझदेखि बदली भएको मौसम सोमबारबाट मात्र केही सुधार हुने सम्भावना रहेको छ । शनिबार दिउँसो देशका सबै स्थानमा पानी परेको छ । आइतबार दिउँसोदेखि पुनः बदली हुने सम्भावना रहेको छ । सोमबार रातिदेखि भने आकाश सफा हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

शनिबार पहाडी र हिमाली सबै क्षेत्रमा बदली भएको छ । अरब महासागरबाट आएको पश्चिमी वायुले नेपालको पश्चिमी पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपात गराएको छ भने कतिपय स्थानमा असिनासमेत परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बङ्गालको खाडीबाट उठेको जलवाष्पयुक्त वायुले नेपालको पूर्वी पहाडी भेगमा भारी वर्षा गराएको छ । पूर्वी भेगमा शनिबार राति र आइतबार दिउँसो पनि वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् कँडेलले भन्नुभयो, “नेपालका पश्चिमी र मध्य भागभन्दा पूर्वी भेगमा बढी वर्षा हुने सम्भावना रहेको छ, पश्चिममा सोमबारसम्म आकाश खुले पनि पूर्वी क्षेत्रमा अझै केही दिन बदली हुन सक्ने सम्भावना रहेको छ । ”

शनिबार सबैभन्दा बढी पानी पोखरामा रेकर्ड गरिएको छ । पोखरामा १०।५ मिलिमिटर पानी परेको छ । त्यसैगरी ताप्लेजुङमा ९।५ मिलिमिटर पानी परेको छ भने काठमाडौँ उपत्यकामा ८।२ मिलिमिटर पानी रेकर्ड गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडी भेगमा दिनभर आकाशमा बादल मडारिएको र केही मात्रामा पानी परेको छ । उच्च पहाडी क्षेत्रमा असिना र उच्च हिमाली क्षेत्रमा हिउँ पनि परेको बताइएको छ ।

“यो ‘प्रि–मनसुन’को समय हो, लगातार बदली नभए पनि फाट्टफुट्ट वर्षा हुने, चट्याङ पर्ने, ठूलो स्वरमा मेघ गर्जन हुनेलगायतका मौसम भइरहन्छन्,” मौसमविद् कँडेलले भन्नुभयो, “पश्चिमी वायुको प्रभाव अझै कायम रहेको र स्थानीय प्रणाली पनि सक्रिय भइरहेको बेला दिनहुँ बदली हुने सम्भावना रहेको छ । ” उपत्यकालगायतका पहाडी तथा हिमाली क्षेत्रमा पानी पर्दा केही चिसोको अनुभव गर्न थालिएको छ तर औसत तापक्रम भने नघटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गोरखापत्र बाट