चीनले यसकारण बन्द गर्यो रसुवागढी नाका

विदुर, नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ।

नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द रहने छ। तीन दिनसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिए। आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएको दाहालको भनाइ छ।

चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ। रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेको छ। चिनियाँ पक्षले नाका बन्द भएको र सवारी साधन सञ्चालन प्रभावित भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए।

रसुवागढी नाका काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा छ। नाका सन्चालन हुँदा दैनिक रुपमा ५० वटा माल वहाक कन्टेनर तथा अन्य यातायातका साधन सन्चालन हुँदै आएका थिए। गत फागुनदेखि दुई महिनाको अवधिमा रसुवागढी नाका पहिरोलगायतका कारणले एक महिनाभन्दा बढी बन्द भइसकेको छ।