मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन
मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन । बुझ्दिन थिएँ किन र के अर्थमा कसले यसो भन्यो तर आज यसैकारण म मर्नु न बौलाउनुको अवस्थामा छु । श्रीमान् सुन्धारा कारागारमा छन् । भगवान् जस्तो मेरो श्रीमानलाई फसाउन कालोकोटधारी विजय सिंह लागिपरे । आज उनकै कारण पतिको दुर्गति भयो । मेरो पतिलाई नखाएको विष लाग्ने गरी फसाउने अर्की महिला (पेटीकोट) हुन् मीना तामाङ । यी दुईका कारण चौबिसै घण्टा आँशु चुहाउन विवश छु । रुन खोज्छु आँशु रोकिँदैन । आफ्ना जीवनको भीमकाय यो कालो दिन सम्झेर साउने मूलझैँ बगिरहेछु । मेरो श्रीमानलाई झुटो कागजात बनाएर हिरासतमा पु¥याए कालोकोटधारी सिंहले । भन्छन्– सास छञ्जेल आश । काठमाडौं जिल्ला अदालतबाट अन्तिम फैसला आउन बाँकी छ ।
त्यही फैसलाको प्रतिक्षामा हिँडिरहेछु । यही कारण भए भरको सम्पत्ति सिद्धियो । अहिले घरमा एक छाक खानेकुरा छैन । जसले आड र भरोसामा जीवन चलाउदै आएका थियौं उ नै प्रहरीको झूठो आरोपमा हिरासतमा पुगेपछि अब हामीले गुजारा कसरी चलाउने ? छोराछोरीलाई कसरी पढाउने ? श्रीमान(बसन्त)सँग सूर्य तामाङको दरबारमार्गस्थित एक ट्राभल एण्ड टुरिज्म कार्यालयमा रहँदाखेरि चिनजान भएको थियो । पछि त्यो कार्यालय छा्ड्नुभयो । चाबहिलस्थित एक्टिभ हिमालयनमा कार्यरत हुनुहुन्थ्यो । सूर्य तामाङ कोटेश्वरमा बस्थे । हामी बबरमहलमा । आवतजावत बाक्लो हुँदै गयो । एउटै परिवारजस्तै भयौँ । यो मिलनमा सूर्य तामाङकी श्रीमती मीनाले पनि साथ दिन थालिन् । सुख दुःखका कुरा हुन्थे ।
मीनाले मलाई दिदीको साइनो लगाउन थालिन् । हिजोसम्म अपरिचित हामी यसरी दिदीबहिनीको पवित्र नाता सम्बन्धमा गाँसिन पुग्यौं । मान्छेहरु भन्थे,रगतको नाताभन्दा भावनाको नाता बढी प्रगाढ हुन्छ । हो, जस्तै लाग्थ्यो ती दिनमा । उनी कोटेश्वरमा कस्मेटिक पसल चलाउँथिन् । त्यो पसल अहिले पनि छ । शनिबार ‘सपिङ’ गर्न उनकै पसलमा जान्थेँ । घण्टौँ ख्यालठट्टा गरेर बस्थ्यौँ । तर, त्यो पवित्र सम्बन्धमा खै कसको आँखा लाग्यो ? स्वार्थ मिश्रित मेरो पवित्र सम्बन्धलाई उनले बालुवामाथिको महल बनाइदिइन् । जुन बनाउनै नपाई ढल्यो ।
०७२ साल साउनको कुरा हो । मलाई केही थाहा थिएन । उनको श्रीमान सूर्य साउदी पुगेका थिए,रोजगारीको सिलसिलामा । पछि सूर्यको फोन आएपछि छाँगाबाट खसेजस्तै भएँ । बेलुका श्रीमानलाई सोधें अनि थाहा पाएँ दिदी संबोधन गर्ने मीनाको असली चरित्र । शनिबारको एकदिने छुट्टिमा श्रीमान् र म सँगै हुन्थ्यौं । त्यसदिन माइतीतिर गएकी थिएँ । श्रीमान वसन्तलाई मीनाले आफ्नो जन्मदिन छ भन्दै बेलुका कोठामा बोलाइछन् । ‘मेरो बर्थडेमा पनि तपाईं उपस्थित नहुने, तपाईंबाहेक नजिकको मान्छे अरु को नै छ र !’ भन्दै जसरी भए पनि आउन अनुरोध गरिन् । बर्थडे पार्टीमा नआए भोलिदेखि बहिनी–दाइका सम्बन्ध तोड्ने भनिसकेपछि वसन्त नजान सकेनन् । तर त्यहाँ पुगेपछि माहोल बिग्रियो ।
उनले पूर्व योजनाअनुसार नै खानामा नशालु पदार्थ मिलाएर खुवाइछिन् र अचेत बनाइदिइछन् । उनको बर्थ डे सेलिब्रेट गर्न आएका सबै साथीहरु फर्किसकेपछिको कुरा । श्रीमानका अनुसार उनको साथमा एकजना नातेदार महिला थिइन् । त्यतिखेर रातिको नौ बजिसकेको थियो । ती नातेदार महिला आफू थाकेको बताउँदै सुत्न गइछन् । तर, उनी भने मेरो श्रीमानसामु अर्धनग्न अवस्थामा आइन र अँगालो हालिन् । कयौँपटक आफूले श्रीमतीलाई धोका दिन नसक्ने भन्दै श्रीमानले उनको प्रस्ताव इन्कार गरेपनि उनले एकपटक मात्रै सन्तुष्टि दिन भन्दै लुगाफाटो फुकाल्न थालिन् । अचेत अवस्थामा रहेका श्रीमानले असर्मथन जनाउँदा जनाउँदै जर्बजस्ती गरेर शारीरिक सम्बन्ध राखिन् । अन्त कतै हिँडडुल नगर्ने सोझो श्रीमानलाई यसरी फसाइछाडिन् । सायद आफ्नो पारिवारिक सम्बन्धमा आँच आउने डरले होला यत्रो घटना हुँदासमेत श्रीमानले लुकाइरहे । मनमा कुरा गुम्साइरहे । जसले यो भीमकाय पीडा भोग्यो उनैले मलाई केही सुइँको नदिएपछि कसरी थाहा पाऊँ ? पछि उनका श्रीमान सूर्यले साउदीबाट फोन गर्दै भनेका थिए ‘तेरो बूढो कहाँ छ, त्यसलाई नकाटी छाड्दिन’ कुरा खोतल्दै जाँदा बल्ल चाल पाएँ ।
तत्काल फोन राखेर श्रीमानलाई केरकार पार्न थालेँ । सोझा श्रीमानले कुनै कुरा लुकाउन जानेका थिएनन् । तर, त्यो घटना लुकाइछाडे । यो मात्र होइन, मलाई दिदीको साइनो लगाउने मीनाले श्रीमानबाट पटक–पटक गरेर दुई लाखभन्दा बढी रकम असुलिसकेकी रहिछन् । र, यो पैसा दिनुको कारण थियो त्यही रातको सम्बन्ध । उनले मागेको रकम नदिए बलात्कारीको अभियोग लगाएर जेल हाल्नेसम्मको धम्की दिएको कारण डरैडरमा श्रीमान्ले उनले भनेबमोजिम पैसा दिँदै गएको चाल पाएँ । त्यसपछि श्रीमान्ले सबै कुरा कहन थाले, ‘श्रीमतीलाई कुनै हालतमा धोका दिन नचाहेको बताए पनि बहिनी मीना तामाङले जबर्जस्ती सम्बन्ध राखिन् । खानामा नशालु पदार्थ मिसाएर बेहोस बनाइन् । मलाई भुइँमा लडाएर लुगाफाटो खोली अनैतिक क्रियाकलाप गरिन् ।
नशालु पदार्थ पिलाएर शरीर पूरै लठ्ठ बनाइदिएकी थिइन् । हलचल भएन । जिउमा टाँसिन थालिन् तर पटक पटक उनलाई हुत्याएँ । उनका सामु मेरो केही सीप लागेन । आफूलाई श्रीमानले सन्तुष्टि नदिएको भन्दै सन्तुष्टि दिन आग्रह गरिन् । यो कुरा गोप्य राख्ने बताउँदै सम्बन्ध राख्न लागिन् ।’ यसपछि उनीसँग फोनसम्पर्क भयो । उनी आफैँ हाम्रो कोठामा आइन् । श्रीमानलाई लछापछार पारिन् । श्रीमान नभएको बेलामा आएर यस्तो त्यस्तो गरिस् भन्दै बम्किन थालिन् । यस्तो सम्बन्ध नगरौँ भन्दा आफैले अनैतिक काम गरिस् भनी चुलोमा उम्लिरहेको तातोपानी खन्याइदिन्छु भन्दै अघि सर्दा मैले प्रतिरोध गरेँ । उनको शरीरमा अलिकति तातोपानी उछिट्टियो । जे भयो भइहाल्यो अब यो कुरालाई गोप्य राख्न सल्लाह दिन थालें ।
तर, उनले उल्टै मेरो कपाल समाएर पिट्न थालिन् । त्यसपछि मैले सहन सकिनँ । निकैबेर झगडा भयो । निकै चिच्याएँ । अन्तमा त्यहाँबाट निस्केर गइन् । उल्टै उनले गत माघ २७ गते तीनकुने प्रहरीमा बलात्कारीको अभियोगमा उजुरी दिइन् । १२ वर्ष जेठा श्रीमानसँग मेरो मागीविवाह भएको एकदशक हुन लाग्यो । विवाहपूर्व श्रीमानको घरपरिवारबारे सबै जानकार थिए । उहाँको पहिलो श्रीमतीले श्रीमानलाई ‘हेण्डसम’ नभएको आरोप लगाँउदै अरुसँग विवाह गरेकी रहिछन् । त्यसपछि दुई छोरा र एक छोरीलाई सम्हाल्ने गरेर भित्रिएकी हुँ म । अहिले पनि उनीहरुलाई उत्तिकै माया ममता दिएकी छु । कुनै कुरामा कमी छैन । आफू निसन्तान रहेर उनीहरुका लागि बाँचिरहेकी छु । उनीहरु सबै हुर्किसकेका छन् ।
जेठो छोरा उच्च तह १२ कक्षामा अध्ययन गरिरहेको छ । कान्छा सात कक्षामा पढ्दैछ । अहिले उनीहरुको अवस्था हेरिसक्नु छैन । एक क्षण एक पल पनि आँखाबाट आँशु रोकिँदैन । मेरो पनि हविगत उस्तै छ । ‘छोरीले बाबा कहिले आउनुहुन्छ’ भन्दै प्रश्न गर्छे । उत्तर के दिऊ ? साउदी जानुपूर्व सूर्य तामाङ (०६९ सालमा ) रोजगारीका लागि कतार पुगेका थिए । तीन वर्ष बसेर फर्किए । यसअवधिभर आठ लाख रकम श्रीमतीलाई पठाएको उनको दाबी थियो । तर, श्रीमती मीनाले हिसाब देखाइनन् । त्यसपछि उनीहरुबीच झगडा मात्रै भएन मीनाले सम्बन्धविच्छेदको कागजातपत्र बनाएर अदालतमा उजुर दर्ता गरिन् । अदालतको फैसला हुनुअघि नै (०७३ सालमा) सूर्य रोजगारीका लागि दोस्रोपटक साउदी गए । यता, अदालतले उनीहरुको सम्बन्धबिच्छेदबारे कुनै फैसला सुनाउन नपाउँदै मीनाले अर्काे चाल रचिन् । साथी वसन्तले आफू एक्लै कोठामा बस्दै गर्दा आएर जबर्जस्ती गरेको भन्दै फोन सम्पर्क गरिन् । तर, सूर्यलाई उनको असली चरित्र के थाहा ? सजिलै पत्याइदिए । मीना तिनै महिला रहेछन्, डान्सबारमा काम गर्थिन् विगतमा । सोधखोज गर्नेक्रममा थाहा पाएँ । सूर्यजस्ता कति जनालाई फसाइसकेकी रहेछिन् ।
यससँगै सूर्यले फोन गरेर बारम्बार धम्की दिन थाले । ‘तंैले गर्दा आज म घर न घाटको भएँ । तँलाई नकाटी छाड्दिनँ । म नभएको बेला सहयोग गर्ने बहाना देखाएर यस्तो गरिस् हैन !’ त्यसपछि म चुपचाप रहन सकिनँ । तीनकुने प्रहरी कार्यलयले पनि सहमतिमा सम्बन्ध राखेको कागजात बनाए सजिलो हुने सल्लाह दियो । त्यसपछि आफन्तको सहयोगले कानुन व्यवसायी विजयसिंहलाई भेट्न पुगेँ । अनामनगरको मण्डला नाचघरस्थित डि.डि ल फर्ममा कार्यालय छ । उनले सबै काम सम्पन्न गर्ने भन्दै पटक पटक गरी ८० हजार रकम लिए । उनले पनि प्रहरीले जस्तै सहमतिमा सम्बन्ध राखेको हो भनेर कागजात बनाए मुद्दा जित्न सजिलो हुने बताउँदै अदालतमा पठाइदिए । तर, अदालतको पहिलो फैसलाले श्रीमान दोषी रहेको देखायो ।
ती कानुन व्यवसायी विजय सिंहले उल्टै झूठो कागज बनाएर कानुनी रुपमा हामीलाई नै तल पार्ने काम गरे । योसँगै श्रीमानलाई पुर्पक्षको निम्ति सुन्धारा कारागार चलान गरिएको छ । निर्दाेष मान्छे प्रहरी कष्टडीमा पुगे । दोषी अहिले पनि खुल्लमखुल्ला बाहिर हिँडिरहेकी छन् । मुद्धा जिताइदिने आश देखाएर सोझासीधा मान्छेलाई कसरी कालोकोटधारीहरुले फसाउँछन् भने एउटा उदाहरण हुँ म । अहिले पनि मसँग यिनै कानुन व्यवसायी विजय सिंहले थप पैसा मागिरहेछन् । ९५ हजार पैसा थपेको खण्डमा मुद्धा जिताइदिने आश्वासन देखाउछन् तर उनको नियत बुझिनसक्नु छ । मैले आफूसँग पैसा नभएको जवाफ फर्काए । पैसा नभए च्याप्टरै क्लोज भयो भन्दै हिँड्छन् । जनअास्थाबाट