चुनाबी प्रचारमा प्रमुखदलहरूबाटै बालबालिकाको प्रयोग

हेटौडा, राजनितीक दलहरुले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पालना गर्न पटक पटक दलहरुलाई चेतावनी दिएपनि दलहरुले त्यसको वेवास्ता गर्दै बालबालिकालाई चुनाबी प्रचारमा प्रयोग गरिरहेका छन् ।

मकवानुरको हेटौडा उपमहानगरपालिकामै प्रमुख दलहरुले चुनाब प्रचारमा बालबालिकाको व्यापक प्रयोग गरेका हुन् । उनिहरुलाई प्रचारप्रसारमा हिडाउनुका साथै पार्टीलाई भोट हाली जिताऔ भन्ने नारा लेखिएका टिसर्ट समेत वितरण गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नं १८ का १३ वर्षभन्दा कम उमेरका बालबालिका अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको चुनाबी प्रचारमा प्रयोग भैरहेको पाईएका हुन् । राजनितीक दलका विभिन्न भातृ संगठनका प्रतिनिधीहरुले स्वयं ति बालबालिकालाई टिसर्ट दिनुका साथै प्रचारमा सहभागि गराईरहेका हुन् ।

१८ नं वडाबाट कांग्रेसतर्फ दिलबहादुर सुवेदी, एमालेबाट अनिल बानियां र माओवादी केन्द्रबाट भोला थापा अध्यक्षका उम्मेदवार हुन् । निर्वाचनका समय बालबालिका प्रयोग नगर्ने भन्दै दलहरुले प्रतिवद्धता जनाएपनि आचारसंहिताको वेवास्ता गरि प्रतिवद्धतालाई भुल्दै उनिहरुले आफ्ना चुनाबी प्रचारमा बालबालिका प्रयोग गरेका हुन् ।

निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता, २०७२ को बुंदा नं ४ (ड) मा निर्वाचन प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । आचारसंहिता उल्लघंन गरेको खण्डमा उम्मेदवारी नै रद्ध हुने र एकलाख सम्म जरिवाना हुने समेत निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ । बालअधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी निकायहरु यसतर्फ चनाखो भई अनुगमन नगरेकोप्रति जनगुनासो बढ्न थालेको छ ।