भारतीय माओवादीको आक्रमणमा परी छत्तीसगढमा एघार सुरक्षाकर्मीको मृत्यु

एजेन्सी, सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएको भारतीय माओवादीले गरेको आक्रमणमा परी कम्तीमा ११ जना सुरक्षाकर्मीको ज्यान गएको छ । माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलवादी भनेर चर्चित माओवादीहरूको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका ११ जनाको मृत्यु भएको हो । घटनामा सात जना अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ भने गस्तीमा रहेका प्रहरीमाथी पहिलादेखि नै ढुकेर बसेका माओवादीहरूले आक्रमण गरेको बीबीसीले जनाएको छ । माओवादीले घेराबन्दी गरेर गोली चलाएपछि ११ जनाको ज्यान गएको हो । प्रहरीमाथी हमला भएपछि माओवादीहरूले हतियारसमेत लुटेर लगेका छन् ।

माओवादीविरुद्ध गस्ती गरिरहेको बेला दिउँसो करिब १ बजे हमला भएको थियो । घाइतेहरूलाई हेलिकोप्टरबाट उद्दारका लागि अस्पताल लगिएको छ । माओवादीको ठूलो हमलापछि मुख्यमन्त्रीले आपतकालीन बैठक बोलाएका छन् ।