विज्ञानमाथि राजनीतिक हमला भयाे भन्दै ,

विरोधमा विश्वका सयौं शहरमा प्रदर्शन

एजेन्सी, विश्वभरका हजारौं वैज्ञानिकले तथ्यमाथि बढ्दो राजनीतिक आक्रमणको विरोधमा सयौं शहरमा प्रदर्शन गरेका छन् ।
अमेरिकाको वासिङ्टन लगायत ५ सय भन्दा बढी शहरमा प्रदर्शन गरिएको छ । ‘मार्च फर साइन्स’ नाम दिइएको प्रदर्शन जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

आयोजकहरुले विज्ञानको पक्षमा उत्सव र वैज्ञानिक समुदायको सुरक्षामा सहयोग गर्न प्रदर्शन गरिएको बताएका छन् । ‘जलवायु परिवर्तनलाई छल’ भनेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकाका वैज्ञानिक निकायहरुलाई दिइने रकम कटौती गर्ने योजनाविरुद्ध समेत प्रदर्शन लक्षित थियो ।

अभियानकर्ताहरुले आफ्नो आवाज सुनाउन चाहेको भन्दै विज्ञान जोखिममा परेको हुनाले यस्तो कदम आवश्यक भएको बताएका छन् । विज्ञान खतरामा परेकाले राजनीतिक कदम चाल्नैपर्ने अवस्था आएको उनीहरुको तर्क छ । संसारको सबैभन्दा शक्तिशाली देशले विज्ञान र तर्कमाथि आक्रमण गरेको भन्दै उनीहरुले त्यसलाई विज्ञानमाथि मात्रै होइन मानवतामाथिकै आक्रमण भनेका छन् ।