१३ वर्षपछि फ्रेन्च क्लब च्याम्पियन्स लिगको सेमिफाइनलमा

मोनाको सन् २००४ पछि च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने फ्रेन्च टोली बन्न पुगेको छ। नेपाली समयअनुसार बिहान जर्मनी क्लब बोरुसिया डर्टमुन्डविरुद्ध भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा मोनाको ३–१ गोलले विजयी भएपछि सेमिफाइनल प्रवेश गरेको हो।यसअघि डर्टमुन्डमा भएका पहिलो लेगको खेलमा पनि मोनाको ३– २ गोलले विजयी भएको थियो। डर्टमुन्डका खेलाडी मैदानमा आउन ढिलाई भएपछि खेल सुरु हुनु ५ मिनेटको समय लम्बिएको थियो। १८ वर्षीय फ्रेन्च स्ट्राइकर केलियान मम्बापेले ३ मिनेटमै गोल गरेपछि मोनाकोले घरेलु मैदानमा सुरुमै अग्रता बनाएको थियो।

मम्बापेले च्याम्पियन्स लिगको नकआउट चरणको ४ खेलमै गोल गरेका हुन्। अर्को गोल राडामेल फाल्काओले १७ मिनेटमा गरे। उनको युरोपेली फुटबल प्रतियोगिताको ५० खेलमा यो ४५ औं गोल थियो। उनले यो सिजन च्याम्पियन्स लिगमा ५ गोल गरेका छन्। तेस्रो गोल भालेर जर्मनले ८१ मिनेटमा गरेका थिए। डर्टमुन्डका लागि एक मात्र गोल ४८ मिनेटमा मार्को रेउसले फर्काए।

डर्टमुन्डले क्वाटरफाइनल समग्रमा ६–३ गोलको फरकमा गुमाएको हो। मोनाकोको जितपछि च्याम्पियन्स लिगमा यो सिजन सेमिफाइनल पुग्ने ४ टिमको समिकरण पुरा भएको छ। यसपालि स्पेनको दुई क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड, फ्रेन्च क्लब मोनाको र इटालियन क्लब युभेन्ट्स सेमिफाइनल पुग्न सफल भएका छन्।