ल हेर्नुस घाइते साथीको उद्धार गर्ने कमिला

एजेन्सी, कमिलाहरुले युद्धक्षेत्रमा घाइते भएका आफ्ना साथीहरुलाई छोड्दैनन् । घाइतेहरुलाई घर ल्याउँछन् र उपचार गर्छन् भन्ने कुरा तपाइँलाई अचम्म लाग्न सक्छ । अमेरिकी साइन्स जर्नलले बुधबार (हिजो) प्रकाशन गरेको एक अध्ययनमा कमिलाहरुले युद्धक्षेत्रमा घाइते भएका आफ्ना साथी सैनिकहरुलाई उपचारका लागि घर ल्याउने अचम्मको तथ्य फेलापारेका छन् ।

अध्ययनकर्ताहरुले लामो समय अफ्रिकामा पाइने ‘मेटावेले’ नाम गरेको कमिलाको अध्ययन गरेका थिए । अध्ययनकाअनुसार ती कमिलाहरु मोर्चाबन्दीसहित अर्को रातो कमिलाको झुन्ड तथा ‘टरमाइट्स’ (धमिरा)लाई आक्रमण गर्ने र युद्धमा घाइतेहरुलाई उद्धार गरी आफ्नो क्षेत्रमा ल्याइ उपचार गर्ने गर्दछन् ।

अध्ययनकअनुसार घाइते कमिलाहरुलाई उपचारका लागि अरु कमिलाले बोकेर आफ्नै इलाकामा ल्याउँछन् र उपचार गर्ने गर्दछन् । अध्ययनका लेखक तथा वुएर्ज्बुर्ग विश्वविद्यालय जर्मनीमा पीएचडी अध्ययनरत् इरिक फ्रैंकले कमिला मानिसजस्तै सामाजिक प्राणी भएको र मानिसहरुले खासै वास्ता नगरेकोले यस्तो तथ्य बाहिर आउन समय लागेको बताए । उनकाअनुसार यस अध्ययनमा कमिलाको सम्पूर्ण व्यवहारको अध्ययन गरिएको थियो ।

अफ्रिकामा पाइने ‘मेटावेले’ नामका ती कमिलाको मुख्य काम सिकार गरेर जीविकोपार्जन गर्ने र सिकार गर्न नसक्नेलाई आफ्नो समुदायमा राखेर पाल्ने गर्छन् । त्यसका लागि ती कमिलाहरु दिनको चारपटकसम्म शिकारका लागि निस्कन्छन् । शिकार पनि मिलरे गर्छन् ।

अध्ययनमा भनिएको छ–‘एकदिन उनीहरुले भ्यागुता भएको ठाउँमा आक्रमण गरे । तर, उनीहरुको क्षति धेरै भयो, उनीहरुले आक्रमण छोडेर घाइते लडाकुलाई नै बोकेर फिर्ता भए ।’ इरिकले ती कमिलाको समूहमा फरक–फरक भूमिकासहितका लडाकु रहेकोसमेत बताए । उनकाअनुसार उनीहरु सिकारका लागि बाहिर जाँदा खानेकुरासमेत लिएर जाने गर्छन् ।

अध्ययनमा उल्लेख भएअनुसार आक्रमणमा जाने कमिलामध्ये सरदर ३२ प्रतिशत घाइते हुने गरेको र ती घाइतेहरुलाई उपचार गरेपछि बाँकी फेरि आक्रमणमा जाने गरेको तथ्य फेलापरेको छ । तर, अनौठो कुरा के भने घाइते कमिला फेरि आक्रमणमा नजाने र उनीहरुले आफ्नो बासस्थानको आकार बढाउन काम गर्ने गरेको पाइएको छ ।