दशकौंदेखि त्रासैत्रास

काठमाडौं , ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ,’ दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस–सुन्तलीसँग खुसी साट्दै भनिन, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थेँ, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो ।

जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थेँ । तपाईंहरुले मजस्तो बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो ।’नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, संवृद्धि, शान्ति र विकास र उन्नतिको शुभकामना आदान–प्रदान गरिरहँदा मरनी दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ । बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उनले धुर्मुस–सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदा खुसी बखान गरी साध्य छैन ।

धुर्मुस–सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारमा चमक नै बेग्लै थियो । मुहारमा त्यो चमकले उनको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालकदेखि बृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।