आन्तरिक विवाद सुल्टाउन एमालेलाई चुनौती

काठमाडौं, अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ ।
एमाले काठमाडौँमा करिब सात वर्षदेखि जिल्ला अधिवेशन हुन सकेको छैन । काम चलाउ कार्य समिति गठन गरेर पार्टीको आन्तरिक काम भइरहेको छ ।

स्थानीय तहको निर्वाचनका लागि महानगरपालिकाको प्रमुख, उपप्रमुखसहित अन्य उम्मेदवारको टुङ्गो लगाउने बेलामा पार्टी आन्तरिक झमेलामा फसेपछि उम्मेदवार टुङ्गो लगाउने विषय पनि ओझेलमा परेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। यो झमेला कायमै रहे अब आउने निर्वाचनमा त्यसको नकारात्मक असर पर्छ उनले भनिन् ।

चैत २८ गते बसेको एमाले स्थायी कमिटी बैठकले काठमाडौँको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल सदस्य छन् ।

समितिले आन्तरिक विवाद सल्टाउने गरी छलफल सुरू गरे पनि अहिलेसम्म टुङ्गो नलागेको उपाध्यक्ष शाक्यले जानकारी दिइन् । प्रमुख दुई गुटको आन्तरिक समस्याले काठमाडौँमा विवाद बढेको हो, नेताहरूको सीधै हस्तक्षेप रहँदासम्म यो समस्या समाधान हुन गाह्रो छ, उनले भनिन् ।अाजको गोरखापत्र दैनिकमा खबर छ ।

गुटगत राजनीति त्याग्ने नीति पार्टीले लिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताइन् । एमालेमा गुटगत समस्या देशैभर भए पनि काठमाडौँमा सबैभन्दा बढी रहेको बताउँदै उपाध्यक्ष शाक्यले भनिन्, ‘शीर्ष नेताहरूको प्रत्यक्ष अप्रत्यक्ष छायाँमा समस्या समाधान गर्न कठिन भइहेको छ, यस्तै भइरहेमा अबको निर्वाचनमा यसको सीधै असर पर्छ ।’ अरू दललाई चुनावको चटारो छ, एमालेलाई आन्तरिक समस्या समाधानकै चटारो छ भन्दै उपाध्यक्ष शाक्यले समस्या सल्टाएर मात्र निर्वाचनमा जाने बताइन् ।

जिल्लाको अधिवेशन हुन नसकेपछि कृष्णकुमार राईको संयोजकत्वमा काठमाडौँ जिल्ला कमिटी गठन गरेर काम चलाउने काम एमालेले गरेको छ । वसन्त मानन्धर सहसंयोजक, विद्यासुन्दर शाक्य सचिव रहेको कमिटी रहे पनि कमिटीले नेताको हस्तक्षेपका कारण जिम्मेवारी वहन गर्न सकिरहेको छैन ।

समस्या समाधान गर्नेगरी उपाध्यक्ष गौतमकको संयोजकत्वमा गठित समितिले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतासँग छुट्टाछुट्टै वार्ता र छलफल गरिररहेको छ । २०६५ पुस २५ र २६ गते भएको जिल्ला अधिवेशनले निर्मल कुइँकेललाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

तर अध्यक्ष कुइँकेल पशुपति विकास कोषको रकममा भ्रष्टाचार गरेको मुद्दामा मुछिएपछि २०७० मा पदबाट राजीनामा दिएका थिए । त्यसपछि उपाध्यक्ष रहनुभएका कृष्ण राईलाई कार्यवाहक अध्यक्ष बनाएर काठमाडौँ कमिटीको कामकाज हुँदै आएको थियो । विधानअनुसार प्रत्येक तीन वर्षमा जिल्लाको अधिवेशन गर्ने व्यवस्था भए पनि लामो समय वितिसक्दासमेत एमाले काठमाडौँको अधिवेशन हुन सकेको छैन । स्थानीय तहको निर्वाचन अघि जिल्ला अधिवेशन गर्ने वातावरण नभए पनि समस्या सल्टाएर जाने कसरतमा एमालेका शीर्ष नेता लागेका छन् ।

केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठकाअनुसार काठमाडौँ जिल्लामा दुई पक्षीय गुटको समस्या रहे पनि प्रमुख नेताकै पहलमा समस्या समाधान हुने विश्वास व्यक्त गरे । शीर्ष नेताकै कारण समस्या बल्झेको हो, समाधान पनि उहाँहरू मिलेर गर्नु हुन्छ, नेता श्रेष्ठले भने ।