नेपालकाे मधेस टुक्र्याउन तालिम दिने रअ एजेन्टलाई पाकिस्तानमा मृत्युदण्ड

काठमाडौं, नेपाल बिरुद्ध समेत जासुसी गरेको भनिएका र पाकिस्तानबिरुद्ध जासुसी गरेको आरोपमा पक्राउ परेका भारतीय जलसेनाका अधिकृत कुलभुषण यादबलाई पाकिस्तानी सैन्य अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलापछि त्यसको परिणाम गम्भीर हुने चेतावनी नयाँदिल्लीले इस्लामाबादलाई दिएको छ । यो घटनाले भारत र पाकिस्तानबीच युद्ध चर्कने संकेत देखिएको छ ।

गत बर्षको मार्चमा यादव बलुचिस्तानबाट पक्राउ परेका थिए । यादव पक्राउ परेपछि पाकिस्तानले आफ्नो देशबिरुद्ध सुराकी गरेको बयान दिएको थियो भने भारतले उनले त्यस्तो गलत केही नगरेको बताएको थियो । यादवमाथि लामो छानबिनपछि पाकिस्तानी सैन्य अदालतले यसै साता मृत्युदण्ड दिने फैसला सुनाएको हो । भारतले त्यसप्रति मङ्गलबार कडा आपत्ति जनायो । मृत्युदण्ड दिने फैसलाको भर्त्सना गर्दै त्यसलाई ‘पूर्व नियोजित हत्या’ भन्यो । फैसला अनुसार यदि यादवलाई मृत्युदण्ड दिएमा द्विपक्षीय सम्बन्धमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि भारतले दियो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कुलभुषण यादवले कुनै गल्ती गरेको प्रमाण पाकिस्तानसँग नरहेको दाबी गरिन् । उनले भारतीय संसदमा मंगलबार भनिन्,‘यो पूर्ब नियोजित घटना हो । यदि मृत्युदण्डको प्रक्रिया अघि बढाएमा त्यसले द्विपक्षीय सम्बन्धमा पार्ने प्रभावलाई बिचार पुर्याउन म पाकिस्तानलाई सचेत गराउन चाहन्छु ।’ भारतीय सुरक्षा श्रोतका अनुसार, यादवको हत्या गरिसकेपछि त्यसलाई फरक आवरण दिन यो नाटक पाकिस्तानले मंचन गरेको हो । पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका अनुसार हुसेन मुबारक पटेलका नाममा पाकिस्तानी नागरिकता लिएर यादवले भारतको पक्षमा जासुसी गर्दै आएका थिए ।

भारतीय जलसैन्यका पुर्ब अधिकृत यादवलाई पाकिस्तानी सैन्य अदालतले मृत्युदण्डको फैसला सुनाए लगत्तै भारत–पाकिस्तान सम्बन्धमा थप तानब देखिएको छ । पाकिस्तानी अधिकारीहरूले यादव बलुचिस्तानको पाकिस्तान–अफगानिस्तान सीमाबाट अबैध रुपमा पाकिस्तान प्रवेश गरी पाकिस्तानबिरुद्ध गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेको दाबी गरेका छन् भने भारतीय अधिकारीले उनलाई इरानबाट अपहरण गरी पाकिस्तान पुर्याएको दाबी गरेका छन् ।

काश्मिरको उरीमा पाकिस्तानी भूमीबाट गरिएको आक्रमणबाट १९ भारतीय सैनिक मरिएपछि दुई देशबीच घोषित युद्ध नै चलेको छ । त्यसको जबाफमा भारतीय सेनाले पाकिस्तानी सिमामा सर्जिकल आक्रमण गरेको थियो । त्यसैलाई बहाना बनाएर पाकिस्तानको इस्लामाबादमा हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन भारतले स्थगित गर्ने अभियान चलाएकोे थियो ।

त्यसको केही समयपछि भारतीय जलसेनाका यी अधिकृतले बलुचिस्तानमा पृथकताबादी तत्वलाई गोप्यरुपमा प्रबद्र्धन गरिरहेको र पाकिस्तानबिरुद्ध जासुसी गरेको भन्दै त्यहाँका अधिकारीले पक्राउ गरेका थिए । पाकिस्तानमा पक्राउ परेक यिनै यादबले भारतीय सीमाबाट नेपाल प्रबेश गरी नेपालका मधेशीलाई समेत नेपाललाई अलग्गै राष्ट्रका रुपमा लाग्न तालिमसमेत दिएको बयान दिएका थिए ।

गत बर्ष नयाँदिल्लीस्थित भारतीय मिसनमा रहेका ६ अधिकारीमाथि भारतीय सरकारले जासुसी गरेको आरोप लगाएपछि तीनलाई त्यहाँ पाकिस्तान फिर्ता पठाइएको थियो । यसलगत्तै इस्लामाबादस्थित भारतीय मिसनमा रहेका आठ भारतीयले पाकिस्तानबिरुद्ध जासुसी गरेको भन्दै उनीहरुका नामसहित मिडियामा रिपोर्ट आएको थियो । यसै साता पाकिस्तानी सेनाका एक अवकासप्राप्त अधिकृत नेपालको लुम्बिनीबाट हराएपछि इस्लामाबादले त्यसको आरोप भारतमाथि लगाएको छ । पाकिस्तानी रक्षामन्त्रालय र अपहरित अधिकृतका परिवारले उनलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ ले बेपत्ता बनाएको दाबी गरेको छ ।