लगन
शुक्रबार बिहानै गाउँबाट बुवाको फोन आएको थियो। दुध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नु भएको रहेछ ,बजारकै पि सि ओबाट। बुबाको हातमा फोन थिएन।ल्यान्ड लाईनबाट आउने प्राय फोन बुबाकै हुन्थ्यो। बिहानको तिनै बजे नै उठ्ने बानी थियो उहाँको जब घरमा भैंसी दुहुनो हुन्थ्यो।
मेरो हालखबर अनि पढाई बारें सोध्नु भएको थियो। अन्त्यमा भन्नुभएको थियो “भोली सनिबार छ।सक्छस भने आज साँझसम्म घर आईपुगेस।एउटा जरूरी काम छ ।”
” जरूरी काम! के जरूरी काम थियो बुवा”
“यतै आएस बसेरै कुरा गरौंला।”
टुं टुं गर्दै फोन काटियो।
मैले प्रति प्रश्न गर्नै पाईंन।
मलाई पनि घर पुग्ने अत्यासले छोएको थियो।घर नगएको पनि महिना दिन पुगिसकेछ। भित्तामा टाँगिएको पात्रो हेरें।अनि मात्र थाहा थाहा पाएँ आज त मंसिर आठ गते शुक्रबार रैछ। अनि कलेज जान तयार भएँ।
कलेज जानु पनि त थियो । बि ए दोस्रो बर्षको पढाई चलिरहेको छ।
मंसिरको महिनासंगै ठण्डि सुरू भैसकेको छ।प्रत्येक साल मंसिर यसैगरी कठ्याङग्र्याउथ्यो। शरिर त चिसै थियो तर मन तात्तिदै छ। बिहान बिहानैको बुबाको फोनले।
के जरूरी काम परेर त्यति बिहानै फोन गर्नु भएको होला।
भित्र भित्रै आँधीहुरी चलिरह्यो। भारी मन लिएर कलेजतिर लागें । पढ्ने मन पनि लागेन। दोस्रो पिरिएड पनि सकिएछ। साथीहरु खाजा खान क्यानटिन पस्दै थिए। म लुसुक्क कोठातिर हान्निएँ।कोठामा पुगें। खाना बनाउन पनि जाँगर चलेन। “बसपार्क तिरै केहि खानुपर्ला।” झोला ठिक पारें। पर्स हेरें दुइसय पचास रुपयाँ रैछ। यति भए त पुगिहाल्छ नि । मनमनै सोचें। चिसो कोठामा धेरै बेर मन अडिएन। बिस्तारै पाईलाहरु अगाडि बढाएँ। घर पुगिहाल्ने जो तिब्र हटहुटी थियो।
गाउँजाने बस यात्रु खोज्दै थियो ।बसपार्ककै एउटा होटेलमा खाजा खाइवरी म पनि गाडीमा उक्लिएँ। सिट प्राय खाली थिए। सिटमा गएर थपक्क बसें। फुच्चे खलासी जोड जोडले यात्रु डाक्दै थियो । “जाने हो हजुर छिन्चु -रामघाट- बोटेचौर”।
करिब आधा घण्टा पछि बस आफ्नो गन्तव्यतिर मोडियो।शरिर केहि हलुका झैं महसुस भयो।प्रतीक्षाको घडी केही छोटो हुँदै थियो।
बस आफ्नै रफ्तारमा अगाडि बढिरहेको छ । मनमा कयौं छालहरु आईरहे। घर सम्झें।बाआमा सम्झें। बुढ्यौलीतिर सरिरहेका उहाँहरूको अवस्था सम्झें। गानो दुखिरहने आमाको पेट। साठि कटिसकेका बुबाको अनुहारका चाउरी सबै सबै आँखा वरिपरी नाचिरहे भित्र कतै गाँठो परेछ। झ्यालका कापबाट आएको चिसो स्याँठले चिसो भएँ। तर सोचमग्न।
” म पनि त यसै महिनाबाट बिस पुगेर एक्कास बर्ष तिर लागें नि।”आफैंलाई नियालें।मन नलागि नलागि फिस्स मुस्कुराएछछु।पार्श्वमा हिन्दी फिल्मको सेन्टिमेन्टल गीत गुञ्जिरहेको थियो।
कलेजमा संधै लास्ट बेन्चर थिएँ म। अन्तरमुखी स्वभाव भएर होला थोरै साथी थिए मेरा।पढाईमा कमजोर भएकाले सरहरुको नजरमा पनि खास्सै परिनँ।तर पनि विद्यार्थीको ट्याग नै मेरो उच्च परिचय बनेर आउँथ्यो। म गर्वसाथ स्विकार्थें। लाग्थ्यो पढ्नु चानचुने कुरा हैन।म पनि पढेर टिचर बन्छू।अनि बाबाआमालाई सुखसंग पाल्छु। मनमा लड्डु फुट्थे।म धिउसंग कपाकप खान्थें ।
—
पढाईभन्दा क्याम्पसमा हुने साहित्यिक कार्यक्रमले चाँहि खुबै तान्थ्यो। म कहिलेकाहीं गजल र कविता कोर्थें। ठट्यौली पाराका।माया पिरतिका ।त्यस्तै त्यस्तै।एकान्तमा आफैं पढ्थें।अरूलाई सुनाउन किनकिन धक लाग्थ्यो।
कहिलेकाही त धक मानिमानी सुनाएको पनि थिएँ।राम्रो प्रतिक्रिया पाउँदा मन उडेर माथी माथि पुग्थ्यो चङ्गा जस्तै। अनि एकैछिनमा आफ्नै धरातलमा ओर्लेर यथार्थको बाटो नापिरहेको हुन्थें। मनमा अनेक कुरा खेलिरहन्थे।
“आज घरबेटीली कोठाभाडा मागेको छ। अस्ति घरबाट ल्याएको पन्ध्र सय ग्याँस भर्दा सकियो। ” रित्तो गोजी छाम्थें ।त्यसै त्यसै हातखुट्टा गल्थे।
अधिल्लो पटक घरजाँदा बा’ले भन्नु भएको थियो “अब हाम्रो भर नपरेस। एउटा जागिर खोजेर खाएस। यो खेती किसानीले मात्र कति दिन पुग्ला। अब त तेरो पनि केही गर्ने बेला आयो । तैं त होस घरको छोरो भनेको पनि । ” बुबाका कुराले जिम्मेवारीबोधले थिच्दै त लगेको थियो।तर म भित्र ठुलै हलचल पनि ल्याईदिएको थियो।
बुवालाई के थाहा यहाँ जागिर खान कति पापड बेल्नुपर्छ।कि त एक्स्ट्रा ट्यालेन्ट हुनुपर्छ। म संग यि कुनै गुण थिएनन्। लोकसेवा देखी बोर्डिङ टिचरका आवेदनहरू सबै ठाउँ जाँच दिन्थें।सबै ठाउँ असफलता। हरेक ठाँउ हारथाक भएर फेरी बुबालाई नै सम्झिन्थें ।यहीमेरो बाध्यता थियो।
“हजुर छिन्चु छिन्चु” खलासिले ढ्याप्प ढोकामा हात बजार्यो। गाडी छेवैमा रोकियो।कोही मानिसहरू ओर्लिदै थिए कोही चढ्दै थिए। मलाई बाहिर निस्कने मन नै थिएन । भित्रैबाट चिहाएर हेरें। यात्रुहरू आ आफ्नै गन्तव्यमा हिंडिरहेका थिए। सडकको दायाँबायाँ तेर्साईएका ठेलागाडीबाट फलफुलको मिठो बासना आईरहेको थियो। कोहि चिने जानेका ,केही अपरिचित अनुहारहरु देखिन्थे। करिब दश मिनेट पछि फेरी बसले आफ्नो गति लियो। रफ्तारमा अगाडि बढ्यो मदानी चौर गोगनपानी हुँदै ।आफ्नै सेरोफेरोको आभाषले मन खुसी हुँदै गयो।
रातामाटा चोकमा पुगेर गाडी फेरि घ्याच्च रोकियो। जहाँबाट हाम्रो घरतिर जाने बाटो लाग्थ्यो।
चोकमा उत्रिएर सरासर म अगाडि बढें।बाटोमा कोही चिनेजानेका मानिसहरू पनि जम्काभेट हुन्थे। सोध्थे “कहाँबाट आयौ कान्छा ।” म नमस्कार गर्दै मुसुक्क हाँसेझै गरेर जवाफ फर्काउँथे” सदरमुकामबाट।”अनि अगाडि बढ्थें।
घर पुग्दा घरमा कोही थिएन।बाआमा बारीतिर हुनुहुन्थ्यो सायद। गोठमा एकनासले बाख्रा कराइरहेका थिए। आफ्नै आँगन पनि बिरानो लागेको थियो । धेरैदिनपछि आएर होला ।कयौं दिनदेखी लिपपोत नगरिएका भुइँ र भित्ताको माटो उप्किएर माटो थुप्रिएको थियो।
मन अमिलो भयो। कठै मेरी आमा कसरी एक्लै घरधन्दा र चुलो चौको गर्दिहुन।
भित्रभित्रै नरमाईलो लागिरहेको थियो।
साँझ अबेर आमा काँचा दाउरा लिएर भान्छा छिर्नुभयो। भान्छाबाट धुवाँ पुत्ताईरहेको थियो। उहाँ ख्वाकख्वाक गरेको पनि सुनियो। म बिस्तारै भान्छा छिरें। आँखा पिरो भए तपतप पानी चुहिए।
आमालाई ढोगें। उहाले मेरो शिरमा हात राख्नुभयो। उहाँको मुहार केही उज्यालो भएको थियो।
साँझ छिप्पिदै गर्दा बुबा घाँसको भारी बिसाएर हातखुट्टा पखाल्दै हुनुहुन्थ्यो। उहाँतिर हेरें। अनुहारमा चाउरी थपिएका थिए।
राती संगै खाना खान बस्दा बुबाको मुहारमा प्रश्नवाचक भावले हेरें। अनि शिर झुकाएँ। बुबाले बिस्तारै बोल्न थाल्नु भयो।
“यसपाली तेरो बिहे गरिदिने सोचेका छौं।”
म त झसङ्गै भएँ। अनि भासिएको स्वरमा बोलें “मेरो बिहे? को संग?”
थोरै मुस्कुराहट मिसिएको स्वरमा भन्नुभयो “तँलाई मन परेकै केटी हो ।
” बैदारकी छोरी कुसुम।”
केटी शिलस्वभाबकी छ। पढेलेखेकी छ।
हामीलाई नि त्यो केटी साह्रै मन पर्छ बुझिस।
” मन धेरै नडुला हेर। तेरो लगन आछ यसपाली। मैले चिना हेराईसकें।बैदारले पनि हुन्छ भनेका छन।केटी नि राजी छ रे।”
बुबा खानाखाएर बाहिर निस्कनु भयो।
मैले अगाडि केही बोलिनँ।
अगेनाको छेउमा आगो ताप्दै टोलाइरहें। मनमनै सोचें साँच्चै लगनै पो आएछ कि क्याहो।मलाई पनि कुसुम राम्रै लाग्थ्यो। मेरा बाआमा त मेरो मनको कुरा बुझ्ने देउतै हुन।
आमाले त्यति नै बेला भन्नुभयो।
बुबाले मेरो किताबमा कुसुमको फोटो भेट्नुभएछ। अनि सोच्नुभएछ म उसलाई मन पराउँछु। अनि त के चाहियो। कुरा यहाँसम्म बढिसकेछ।
मेरा बुबा आमालाई के थाहा । त्यो फोटो उसले मलाई बि ए को भर्ना फर्म भरिदिनु भनेर दिएकी पो दिएकी थिई।एउटा त घरकै किताबमा पो छुटेछ।