निगममा दर्जन पाइलट उत्तीर्ण

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सार्वजनिक सूचनामार्फत आह्वान गरेको प्रक्रिया पूरा गरी करिब एक दर्जन पाइलट अन्तिम चरणमा पुगेका छन्। निगमले आन्तरिक उडान उडान चुस्त–दुरुस्त बनाउन गत पुस २६ गते सार्वजनिक सूचना जारी गरी २० जना पाइलट मागेको थियो। जसमा त्यति नै संख्यामा आवेदन परेको थियो। तीमध्ये योग्यता परीक्षणमा ११ जना उत्तीर्ण भएका थिए। तीमध्ये नौ पाइलट स्वास्थ्य परीक्षण परीक्षामा सफल भएका हुन्।

‘अहिले उत्तीर्ण नौजना पाइलटको अब अन्तर्वार्ता हुन बाँकी छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘अन्तर्वार्ताका लागि सात दिन (चैत १६) को मिति दिएका छौं।’

निगमले आन्तरिक उडानका लागि सातजना क्याप्टेन र १३ जना वरिष्ठ को–पाइलट मागेको थियो। जसमा क्याप्टेनतर्फ खुलामा चार, महिला एक, आदिवासी/जनजाती एक र मधेशी एक एवं वरिष्ठ को–पाइलटतर्फ खुला सात, महिला दुई, आदिवासी/जनजाती दुई, मधेशी एक र दलित कोटा छुट्ट्याइएको थियो।

तीमध्ये क्याप्टेनतर्फ एकजनामात्र उत्तीर्ण भएका थिए भने वरिष्ठ को–पाइलटतर्फ १० जना सफल भएका थिए। त्यसपछि लिइएको स्वास्थ्य परीक्षण परीक्षामा एक क्याप्टेन र आठ वरिष्ठ को–पाइलट उत्तीर्ण भएका हुन्। दुई को–पाइलट भने स्वास्थ्य परीक्षणमा असफल भए।

उत्तीर्ण पाइलटलाई क्यानडामा निर्मित १९ सिट क्षमतायुक्त ‘डिएचसी–६’ टि्वनअटर तथा चीनमा निर्मित १७ सिटे ‘वाई१२–ई’ र ५६ सिटे ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजका जहाज उडाउन लगाइने छ।

‘नयाँ पाइलट थपिएपछि आन्तरिक उडान थप सहज हुने छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘निगमका जहाज तोकिएको समयमा उड्दैनन् भन्ने गुनासो पनि हट्ने छ र त्यसबाहेक निगमको विश्वसनियता पनि बढ्ने छ।’

निगमसँग हाल दुईथान टि्वनअटर, दुई वाई१२–ई र दुईवटै एमए–६० जहाज छन्। तर, पर्याप्त पाइलट नभएका कारण तिनलाई अधिकतम उडानमा प्रयोग गर्न सकेको छैन। आन्तरिक गन्तव्यमा उडान गर्ने ती जहाज उडाउन निगमसँग २७ जना पाइलट छन्। एमए–६० उडाउन ६ क्याप्टेन र दुई को–पाइलट, वाई१२–ईका लागि चार क्याप्टेन र ६ को–पाइलट तथा टि्वनअटर उडाउन सात क्याप्टेन र दुई को–पाइलट छन्।

वाई१२–ई उडाउन चारजना क्याप्टेन भए पनि निगम व्यवस्थापनले दुई वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठलाई दुई महिनादेखि उडान गर्न नदिई ‘ग्राउन्डेड’ गरेको छ। अर्का क्याप्टेन अनिशमान शाक्य पनि लगभग दुई महिनादेखि उडानमा संलग्न छैनन्। त्यही भएर वाई१२–ईका लागि एकमात्र क्याप्टेनमा उद्धव घिमिरे तथा को–पाइलटमा प्रचण्ड खड्का र राकेश काफ्लेमात्र छन्।

निगमले भने वाई१२–ई जहाजका लागि चार क्याप्टेन र ६ को–पाइलट रहेको बताउँदै आएको छ। तर, दुई क्याप्टेन ग्राउन्डेड र एक उडानमा फर्किएका छैनन्। बाँकी चार को–पाइलट श्रृजना रावत, लिबर्टी भण्डारी, विजय अवाले र रविन केसीले दुई वर्षदेखि जहाज उडाउन पाएका छैनन्।

निगमसँग वाई१२–ई जहाजको प्रशिक्षक पाइलट (आइपी) नहुँदा ती चार को–पाइलटलाई उडानमा फर्काउन नसकिएको सम्बद्ध अधिकारीले बताए। त्यही भएर उनीहरूलाई मासिक ४५ घन्टा ‘ग्यारेन्टी आवर’ भत्ता दिएर घरमै थन्क्याइएको उनले जानकारी दिए।

‘निजी वायुसेवा कम्पनीका पाइलटले पाउनेभन्दा धेरै कम सेवा–सुविधा रहेका कारण निगमका जहाज उडाउन पाइलटहरूले त्यति चासो दिने गरेको पाइँदैन,’ निगमका एक वरिष्ठ क्याप्टेनले भने, ‘निजी वायुसेवा कम्पनीका पाइलटले हाम्रा आन्तरिक उडान गर्ने पाइलटको भन्दा भन्दा चारदेखि पाँच गुणा बढी सेवा–सुविधा पाउँछन्। अन्तर्राष्ट्रियतर्फ त झन् हाम्रो अवस्था नाजुक छ। अनि कसरी हामी पाइलट आकर्षित गर्न सक्छौं?’

नयाँ एमए-६० थन्कियो

नेपाल वायुसेवा निगमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ (एमए–६०) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ।

सम्बद्ध स्रोतका अनुसार कलसाइन ‘९एन–एकेआर’ कलसाइन भएको यो जहाजको ‘नोज ल्यान्डिङ गियर’ को ‘हाइड्रोलिक लिकेज’ भएपछि जहाज थन्किएको हो। यो जहाज गत माघ १३ गते काठमाडौं आएको थियो।

‘नयाँ वाई१२–ई जहाज पाइलट नभएर उडाउन सकिएको छैन,’ स्रोतले भन्यो, ‘नयाँ एमए–६० मा प्राविधिक समस्या आयो। वारेन्टी अवधि बाँकी भएका कारण बिग्रिएको सामान झिकेर चीन पठायौं र उताबाट निःशुल्क सामान आएपछि बुधबार जडान गरिएको छ। जहाज शुक्रबारबाट नियमित तालिकाअनुसार उड्ने छ।’नागरीक बाट