राष्ट्रिय गौरवको आयोजनाबाट बजेट खोसेर आफूखुसी गर्ने दुई मन्त्रीको दाउ

काठमाडौं : उपप्रधानमन्त्री विमलेन्द्र निधि र सिँचाइमन्त्री दीपक गिरीको दबावमा भेरी बबई डाइभर्न आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तार गर्ने तयारी गरिएको छ। सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ विनियोजन गरेको छ।

आयोजनाले खर्च गर्न नसकेको निहुँमा उक्त रकममध्येको ३९ करोड ३९ लाख रुपैयाँ बजेट रकमान्तरण गरी नेपाली काँग्रेसबाट बनेका मन्त्रीद्वय निधि र गिरीले आफूखुसी आयोजनामा थप रकम दिन खोजेका हुन्। सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाबाट रकम झिकेर खुद्रे किसिमका औचित्यहिन मझौला सिँचाइ आयोजनालाई बजेट दिने सबै तयारी पूरा भएको छ।

‘मन्त्रीहरुको दबावमा सचिव र विभागीय प्रमुखहरुबीच छलफल गरेजस्तो गरी आ-आफ्ना गृह जिल्लाका सिँचाइ आयोजनालाई थप बजेट दिने सबै तारतम्य मिलाइएको छ,’ ती अधिकारीले सोमबार भने, ‘अहिले यसको फाइल सचिव गजेन्द्र ठाकुरसँग पुगेको छ । यही वा अर्को साता स्वीकृतिका लागि अर्थमन्त्रालयमा पठाइने छ। ती अधिकारीका अनुसार रकमान्तरण गर्न खोजिएको ३९ करोड ३९ लाख रुपैयाँमध्ये १९ करोड २९ लाख दाङ र धनुषाको मझौला सिँचाइ आयोजनालाई दिइनेछ। बाँकी २० करोड रुपैयाँ मर्मत सम्भार गर्ने नाममा विभिन्न सिँचाइ आयोजनालाई दिने प्रपञ्च मिलाइएको छ। – नागरिक दैनिकबाट