पेरिसडाँडामा कमरेडहरूको हिक्कहिक्क

काठमाडौं ,प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केही न केही रोचक/घोचक भइरहन्छन् । केन्द्रीय समितिलाई बढाएर प्रचण्डले ३९९९ सदस्यीय बनाए पनि पदका लागि रुवाबासी गर्नेदेखि आत्महत्या गर्नेसम्मका धम्की पाउनबाट अध्यक्ष प्रचण्डमुक्त हुन सकेका छैनन् । यस्तैमा केही समयअघि मात्रै पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा केही नेताले पदका लागि प्रचण्डसंग गरेको रुवाबासी तथा रडाको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीच अहिले चट्पटे मसला बनेको छ ।

धम्की र रुवाबासी गर्नेमा अग्रपंक्तिमा देखिएकी माओवादी नेतृ शशी श्रेष्ठको चर्चाले माओवादीमा अरुभन्दा अलि बढी नै चर्चा पाएको छ । स्रोतका अनुसार, माओवादी केन्द्रकी नेतृ श्रेष्ठले केन्द्रीय समिति बैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय सदस्य नबनाइएको भन्दै रुवाबासी नै गरेकी थिइन् । उनले पम्फा हुँदा म किन नहुने भन्दै असन्तुष्टि पोखेको बताइन्छ । असन्तुष्टि पोख्दै श्रेष्ठ डाँको छाडेर रुने अवस्थामा पुगेपछि उपस्थितहरूले असजिलो महसुस गरेका थिए । ‘पार्टीको हरेक काममा मैले आफूलाई खरो उतार्दै आएकी छु,’ श्रेष्ठले पदका लागि गरेको रुवाबासी उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘तर, मलाई अहिले के कारण हेडक्वार्टरको कार्यालय सदस्य बनाइएन ?’ स्रोतका अनुसार, श्रेष्ठले हेडक्वार्टर कार्यालयको सदस्य नबनाइएको प्रति रोष प्रकट गर्दै प्रचण्डलाई राजीनामाकै धम्की दिएकी थिइन् । ‘मलाई अब यो पार्टीमा बस्नु छैन । म सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन्छु,’ श्रेष्ठले हिक्कहिक्क गर्दै दिएको चेतावनी उद्धृत गर्दै स्रोतले भन्यो । श्रेष्ठ यसरी पदका लागि रुवाबासीमै उत्रेपछि प्रचण्डले उनलाई सम्झाउने प्रयास गरेका थिए । स्रोतका अनुसार, प्रचण्डले हाललाई हेडक्वार्टर सदस्य आफूले चाहँदाचाहँदै पनि बनाउन नसकेको भन्दै आउँदो महाधिवेशनसम्म कुर्न आग्रह गरेका थिए । पार्टी अध्यक्षले यस्तो आग्रह गरेपछि राजीनामाको धम्की दिएकी उनी रोकिएको बताइन्छ ।

श्रेष्ठले राजनीतिमा लागेर केही नबिराएको बताए पनि बैठक स्थलमै सहभागी कतिपयले श्रीमती हुँदा–हुँदै लीलामणि पोखरेलसंग विवाह गरेर के गरेको नि भन्दै उडाएका थिए । श्रेष्ठ माओवादी नेता पोखरेलको जेठी श्रीमती हुँदाहुँदै उनको दोस्रो पत्नीका रुपमा भित्रिएकी थिइन् ।

श्रेष्ठ जस्तै माओवादी केन्द्रका सल्लाहकार बृद्ध नन्दकुमार प्रसाईले पनि पार्टीमा दिइएको भूमिका प्रति असन्तुष्टि जनाउँदै शशीकै शैलीमा पद मागेका थिए । उनले आफू १४ वर्षसम्म जेल बसेको भन्दै प्रचण्डलाई सल्लाहकार नखाने बताएका थिए । उनले आफूलाई कार्यालय सदस्य बनाउन प्रचण्डसंग माग गरेका थिए । तर, प्रचण्डले आफू अहिले पद दिन सक्ने अवस्थामा नरहेको भन्दै पछि उचित स्थान दिने बचन दिएका थिए । ‘तपाईं हामीले सम्मान गरेरै केन्द्रीय सल्लाहकार बनाएका छौं,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आउने दिनमा म अवश्य उचित स्थान दिनेछु ।’साँघु साप्ताहिकमा खबर छ ।

माओवादी स्रोतका अनुसार, माओवादी केन्द्रले केन्द्रीय समिति देखि हरेक तहका कमिटी भद्दा बनाए पनि अझै अकांक्षीहरूको चित्त बुझाउन सकेको छैन । कतिपय माओवादी नेताहरूले पदका अकांक्षी बढ्दै गएपछि यो पार्टीले अब गरिखाने भएन भन्दै निराशा पोख्न थालेका छन् ।