विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ देश सहभागी हुने

काठमाडौं: सन् २०२६ देखि हुने विश्वकप फुटबल प्रतियोगितामा ४८ वटा राष्ट्रका टिम सहभागी हुने भएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले अहिले ३२ टिम सहभागी हुने संरचनामा परिवर्तन गर्दै सन् २०२६ बाट विश्वकप खेल्ने टिमको संख्या ४८ पुर्याएको हो ।

स्वीट्जरल्यान्डको ज्यूरिचमा मंगलबार भएको फिफाको बैठकले यस्तो निर्णय गरेसँगै विश्वकपमा अब थप १६ राष्ट्र सहभागी हुने भएका छन् ।विश्वकप फुटबलको अन्तिम चरणमा हुँदै आएका ६४ खेलको संख्या बढेर अब ८० पुग्ने भएको । यो निर्णयसँगै विश्वकपको अवधि बढेर अब एक महिना दुई दिन पुग्ने भएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबललाई विश्वभर अझ बढी फैल्याउन र थप रोमान्चक बनाउन सहभागी राष्ट्रको संख्या बढाइएको बताएका छन् ।सन् १९९८ मा फ्रान्समा भएको विश्वकपदेखि ३२ राष्ट्र सहभागी हुँदै आएका छन् । सन् १९३० को पहिलो विश्वकपमा १३ राष्ट्र मात्रै सहभागी भएका थिए ।