मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाकाे जित

काठमाडौँ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पहिलो लेगमा एथ्लेटिको बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । घरेलु मैदान नाउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउने क्रममा एमएसएन अर्थात लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले एक एक गोल गरे ।

एथ्लेटिको बिल्बाओका लागि साबोरिट टेइसिडोरले एक गोल गरे । ३५ औं मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । ४८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेइमारले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५१ औं मिनेटमा एथ्लेटिको बिल्बाओका टेइसिडोरले एक गोल फर्काए ।

७८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए । मेस्सीले फ्रि–किक मार्फत गरेको गोल बार्सिलोनालाई अघिल्लो चरण र्पुयाउन महत्वपूर्ण बन्यो । मेस्सीले खेल जीवनको ३१ औं फ्रि–किक गोल गरेका हुन् । राति नै भएको खेलमा भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको रियल सोसिडाड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा पुगेको छ । यस्तै कोर्डोबालाई २–१ ले हराएको एल्कोर्कोन पनि अन्तिम ८ मा पुगेको छ । यस्तै डिप्रोटिभोसँग दोस्रो लेगमा १–१ को बराबरी गर्दै समग्रमा ३–३ को बराबरी भएपछि अवे गोलका आधारमा एलाभेस अघिल्लो चरण पुगेको छ ।