एसियन स्काई रनिङ्ग प्रतियोगीतामा नेपालकी सुनमाया बनिन् च्याम्पियन

हङ्कङ भएको दौड प्रतियोगितामा जुम्लाकी सुनमाया बुढा एसियन स्काई रनिङ्ग २०१६ को च्याम्पियन बनेकी छन् । आइतबार भएको एमएसआईजी लाङ्टाउ ५० किलोमिटर दौड प्रतियोगितामा उनी प्रथमल हुदै च्याम्पियन बनेकी हुन् ।
हङ्कङको म्यानटङ्ग पार्कबाट टुङ्गचुङ लाङ्टाउसम्मको ५० किलोमिटर दूरी सुनमायाले ६ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पूरा गरेर प्रथम स्थान प्राप्त गर्न सफल भएकी हुन् ।

त्यसैगरी, जुम्लाकै पूर्णालक्ष्मी न्यौपाने एसियन च्याम्यिनसिपमा दोस्रो हुन सफल भएकी छन् । पूर्णालक्ष्मीले यो दूरी ७ घण्टा ४५ मिनेटमा पार गरेकी हुन् । विश्व च्याम्पियनसिपमा भने सुनमाया आठौं र पूर्णालक्ष्मी १८ औं स्थानमा रहन सफल भइन् । विश्वका तीन सय ६७ महिला पुरुष सहभागी मध्ये उनीहरु ८ र १८ स्थानमा आएको कर्णाली स्पोर्ट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए । विश्वका महिला समूहमा सुनमाया दोस्रो र पूर्णालक्ष्मी न्यौपानेले चौथो स्थानमा रहन सफल भएको क्लबका अध्यक्ष शाहीले बताएका छन् ।

महिला तर्फ प्रथम हुने स्वीट्जरल्याण्डकी क्यारोलाईन चाभेरोटले आठ हजार पाँच सय डलर, दोस्रो हुने नेपालकी सुनमाया बुढाले चार हजार पाँच सय डलर, तृतीय हुने फ्रान्सकी मौड गोबर्टले चार हजार डलर, चौथो हुने नेपालकी पूर्णालक्ष्मी न्यौपानेले तीन हजार डलर र पाँचौ हुने केन्याकी सुसन जेम्भटाईले दुई हजार डलर पुरस्कार पाएका छन् ।