‘जवानी के हो ?’

कविता

भावनामा बहकिन मन लाग्छ,
आफैमा हराउन मन लाग्छ ।
उत्ताउलो प्रेमको बिशेषता हो कि ?
या त जवानीको प्रभाव हो यो ?

खै !
के हो ? यो बैंसमा यस्तै हुन्छ कि,
या त बेइमानी मौसमको तुवाँलो लाग्यो,
जिन्दगीको गोरेटोमा !
थाहा छैन खै के हो यो ? यो के हो ?

केही पाउन केही गुमाए जस्तो,
कतै इन्द्रेणीको रंग लागे जस्तो,
कतै निराशाको तुवाँलो जागे जस्तो,
कतै आनन्दित जलविहार जस्तो,
यहि हो जवानि, सायद ! हो जवानी यहि त हो ।

कतै सपनाको भर्‍याङ चढे जस्तो लाग्छ,
हावा चलेको हो कि या साँच्चै नै,
कतै कोहि सहयात्री आए जस्तो लाग्छ,
खै ! कस्तो हो ? बैशालु उमेर यो ?

लाग्छ कहिलेकाहीँ, चरी झै उडिदिउँ
कि त त्यो पहाड नै फोडिदिउँ,
वा, हिमनदी झै कलकल बगिदिउँ,
हो, यस्तै यस्तै हुन्छ अचेल, के जवानी हो यो ?

त्यो मन भित्र, यो मन हराइदिए हुन्थ्यो !
नत्र भने कसोरि सम्हालिने हो ? बैँस यो ?
कि मिल्ने भए यो मनले उतै डेरा सराइदिए हुन्थ्यो,
नत्र कसोरी ठेगान लाग्ने हो मन यो अस्थिर छ ।

हुन त जवानी रुनलाई हैन, र पनि मन लाग्छ,
यो उर्जाशिल प्रहर केही गर्न, केही देखाउन हो ।
केही बुझ्न, केही बुझाउन हो,
अन्ततः सदुपयोग होस जवानिको नजाओस् खेर कतै ।