मेरो हुन नसकेको मेरो देश !

छाला फेरि फेरियो
र बाक्लो/बाक्लो मयल बनेर उत्रीयो
बिहानबाट साँझलाई स्पर्श गर्नका लागी केबल
जोतिइरहने शरिरबाट
जाँतो झैं पिसिइरहने शरिरबाट
अक्सर वस्त्र फेरिएन ।

चिसो भातले आफ्नो आँत भर्न नसकेकी
चिसो रोदनले आँखा सुन्निएकी
भित्रैदेखिन राजस्थानी जमिन झैं पट्पटी फुटेकी उनि,
भोको आँत भर्ने लालसामा कुनै परदेशको चिसो छिडिमा लिलाम हुन्छिन ।
र रुन्छिन !

यो त्यो समय थियो
जुन समय उसको आफ्नो देश हुन नसकेको देशका प्रधानमन्त्री भन्दै थिए:
– अब कोहि नेपाली भोकले रुनुपर्दैन ।

मामुली भन्दा मामुलीमा
लिलामी हुन तम्सेको झुपडी
लिलामी हुन तैयार वृद्ध शरिर
घरधुरी कर र सानु चल्लाको करले
थचक्क थिचिएको मामुली मान्छे
साहुको ऋणले मिचिएको मामुली मान्छे
एक डोज परान त्याग्न डुडुवा खोलाको निलो रहमा सुकेको पात झैं तैरिन्छ

यो त्यो समय थियो
जुन समय उसको देश हुन नसकेको
देशको प्रधानमन्त्री भन्दै थिए:
– अब नेपालमा पानीजहाज तैराइन्छ ।

बुढो सिमल झैं खोक्रो न खोक्रो
मेरो हुन नसकेको मेरो देश
र त्यस्तै मेरो देशका बुढा बा’हरु/आमाहरु
एक प्रती ऐलानी जमिनमा खुट्टा टेक्ने लालसामा जुग सक्काउँछ्न

यो त्यो समय थियो
जुन समय मेरो देश हुन नसकेको
मेरो देशका राष्ट्रवादी अगुवाहरु
मेडिकल माफिया हुँदै जमिन माफियामा अदलबदल हुन्छन र फुक्छन
सरकारी रेडियोमा:
– भ्रष्टाचारीहरुलाई………………….।