कुसे न्यूज, कर्णाली र कर्मको त्रिवेणी

उटा सफल रिपोर्टर सक्षम व्यवस्थापक हुन सक्छ कि सक्दैन ? सफल व्यवस्थापक कुशल सम्पादक र दक्ष सम्पादक सामाजिक अभियन्ता हुने सम्भावना कतिको प्रवल रहन्छ ? विगत तीन वर्षका समय यिनै प्रश्नको अग्निपरीक्षामा मेरा दिन बिते । यो दायित्वको सम्परीक्षण गर्ने माध्यम थियो– कुशे न्यूज डट कम । काठमाडौंमा विभिन्न सञ्चार गृहहरुमा काम गर्दै जाँदा त्यहाँको माटो, बाटो र संगतले धेरै सिकायो ,करिब एकदशकको पत्रकारीताको अभ्यासले धेरै कुरा अनुभुत गरायो  ।  कहिले गफाडी बनायो । कहिले प्रतिशोध जन्मियो । कहिले आसमा झुलियो । कहिले त्रासमा भुलियो । चौथो अंगको संवाहक भएको भ्रमले कहिले आफैंभित्र अहं जन्मियो । भाव, अभाव, प्रभाव जीवनका गहना नै भइहाले । दिन वित्दै थिए । राजनीतिक परिवर्तनका स्वरहरु पेचिलो बन्दै थिए । संघीयता कार्यान्वयनको अन्तिम चरणको चुनाव सकियो ।

स्थानीय निकायको चुनावसंगै सिंहदरबार गाउँ गाउँ पुगेको वासना देशभर चल्न थाल्यो । त्यसपछि मैले आफ्नै मनसंग मन्थन गरें– ‘सिंहदरबार गाउँ पुग्छ भने मेरो पत्रकारिता किन गाउँ पुग्दैन ?’ फेरि अर्को मनले भन्यो– ‘शहर पसेको कुकुर त गाउँ फर्कदैन, म कसरी फर्कन सक्छु ?’ कुसे न्यूज जन्मिसकेपछि त्यसलाई दीर्घायु दिने सवालमा जन्मिएका परिघटना थिए यी ।

मैले बुद्धिसागरलाई सम्झिएँ, कालिकोट जन्मभूमि भएका उनले काठमाडौंमा कर्णाली गाथाको ‘कर्नाली ब्लुज’ जन्माएर देशमा प्रसिद्धि पाए । तनहूँमा जन्मिएका भानुभक्त आचार्य आखिर ‘आदिकवि’को पगरी गुथ्न काठमाडौं पुग्न प¥यो । पोखरामै रहँदा धुरन्धर कवि लेखनाथ पौड्याललाई काठमाडौंले प्रमाणित गरेपछि मात्र ‘कविशिरोमणि’ भाग्यमा लेखियो । यी सबै उदाहरण मार्केटिङको थियो । तालु खुइलेलाई काइँयो बेच्न सकिएन भने जतिसुक्कै चौबीस क्यारेट भएपनि नेपालको फलामको चिउराजस्तै छ भन्ने तथ्य सबैलाई घाँटीघाँटीसम्म थाहा छ । त्यसमाथि राजनीतिक प्रदूषणले नेपालको मिडियालाई रंगहीन, ढंगहीन बनाउँदै लगेको घटनाका भुक्तभोगी हाम्रै पुस्ता साक्षी छ । झण्ड, डण्डे र भक्तिगानबाहेकको अर्को विकल्प भनेको आत्मघाती गोल समान हो ।

मेरो पिताजीले बारम्बार भन्नुहुन्थ्यो– ‘बुद्धिमान मानिसले कुरा सबैको सुन्छ, निर्णय आफ्नो लिन्छ ।’ हो, अन्तिममा मेरो पत्रकारिताको लक्ष्यभेदन पनि कर्णाली सेरोफेरो गर्ने निर्णय लिएँ । जन्मभूमिको भारा तिर्नुपर्छ भन्ने पनि लाग्यो । त्यसो त अण्डाको पनि माया गर्ने, अम्लेठ पनि खान खोज्ने दोहोरो चरित्रले लक्ष्य भेट्न सफल पनि थिएन । प्रत्यक्ष, अप्रत्यक्ष राजनीतिमा जोडिएको विगतले पनि कर्तव्यबाट भाग्न छूट दिँदैनथ्यो । पत्रकारिताको आधार कर्णालीलाई बनाउन निष्कर्षसहित कर्णाली हानिएको पनि बर्ष बित्न थालेछ ।

प्रकृतिको वरदान कर्णाली । एकातिर रहरको कर्णाली, अर्कातिर कहरको कर्णाली । कर्णालीसंग धेरै मिथक, कहानी र भ्रम छन् । कर्णाली बेचेर कमाउनेहरु र कर्णाली पूजा गरेर जिन्दगी गुमाउनेहरुको थुप्रै गाथा छन् । कर्णाली अभावमा छटपटिँदा काठमाडौंमा यहाँ फलेको कालो मार्सी भातको चीरहरण हुन्छ । काठमाडौंले भाषा, संस्कृतिको सभ्यता हराउँदा कर्णाली ढाल बनेर उभिनु पर्छ ।

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा विलासी भनिएका राणाको भान्सामा कर्णालीको कालो मार्सीको भात गम्किन्थ्यो । २० लाख रुपियाँ किलोको यार्सागुम्बा कर्णालीको धरा फटाएर निस्कन्छ । आफैंमा समृद्ध कर्णालीको नियति उल्टो गरिबीसंग जोडियो । ०७ सालमा आएको प्रजातन्त्रको खबर प्रजातन्त्र गुमेपछि कर्णालीले पायो भने इतिहासकै पानामा हेप्ने काम गरिन्छ ।

कुहेको चामल कर्णाली पठाएर त्यो चामलमा नेता र प्रशासकले राजनीति गर्ने प्रथा अझै कायम छ । कुहेको चामल भातका लागि उपयोग नभएपछि जाँड पकाउन प्रयोग भयो । मानौँ जाँड खाएर पत्नी कुट्ने केही कथित पात्रका नाममा कर्णालीलाई बद्नाम गर्ने कामले अद्यावधि निरन्तरता पाइरहेकै छ । कर्णालीभित्रको यही अर्थशास्त्र र समाजशास्त्रको अध्ययन पनि मेरो पत्रकारिताको मूल ध्येय हो ।

कर्णाली प्रदेशको क्षेत्रीय राजधानी सुर्खेतमा छ । यसोत तत्कालको लागि कुसे न्यूजको क्षेत्रीय कार्यालय नेपालगञ्जमा छ । समाचारको खजना कर्णालीमा छ । अनि समाचार र विज्ञापनको बजार संघको राजधानी काठमाडौंमा छ । प्रशासनिक अनमेलभित्र मेल खोज्नु आफैंमा चुनौतीको पहाड चढ्नु जत्तिक्कै छ । ‘कुसे’ नाम आफ्नो जन्मभूमिसंग गाँसिदा मुटु जोडिनु स्वाभाविक हो । परिचय नाममा नभएर काममा हुन्छ । यात्राको छोटो अवधिमै कर्णालीका धेरै सत्य उघा¥यौं ।

यसक्षेत्रका लागि कुसे न्यूज पोर्टलले आशातीत माया, प्रेम र स्नेह पायो । राजनीतिक, सामाजिक, आर्थिक र प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुको सामीप्यता उर्जा सावित भयो । यस्तो लाग्छ अझ सहयात्री टीमको अविच्छिन्न सहयोग, सद्भाव यो प्राप्तिको प्रमुख उर्जा हो । कुसे न्यूज टीमका ती उम्दा प्रतिभा जो कामको विकल्प काम नै रोज्छन, तिनको समर्पणको प्रशंसा गर्न मेरो शब्दकोषमा त्यस्तो शब्दै छैन भने हुन्छ ।

मलाई लाग्छ मिसन पत्रकारिताको युग समाप्त भएको छ । राजनीतिक रुपमा पनि अब निर्माणको समय हो । सत्कर्मका लागि सलाम, दुष्कर्मका लागि फलाम कुसे न्यूजले कोरेको यात्राको आधार यही हो । आग्रह, पूर्वाग्रह र कसैको झोलेतन्त्रबाट हामी पूर्णत मुक्त छौं । संघीय र प्रदेश सरकारले थालेका राम्रा काममा काँधमा काँध मिलाएर हिँड्ने संकल्प वार्षिकोत्सव समारोहमा प्रकट भएकै हो । कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुृर शाहीसंग भएका औपचारिक, अनौपचारिक भेटमा समेत हाम्रा प्रतिवद्धता प्रकट भएका छन् ।

राजनीतिक र प्रशासनिक नेतृत्वको सहयात्राविना उपलब्धि सम्भव छैन । राजनीतिक परिवर्तनका जतिसुकै हौवा फिँजाए पनि यी दुई शक्तिबीच विश्वासको खाडल बढ्दै जाँदा परिवर्तनका धाँजा फाट्न लागेको आभास छ । सेवा दिनुपर्ने निजामती कर्मचारीको संघीय र स्थानीय सरकार पीडित छन् । सरकारी निकायबीच समन्वयको अभाव छ । सरकारका फ्रन्ट डेस्क मानिने सेवाप्रदायक निकाय केन्द्रीय सरकारको कमाण्डमा छन् । हेर्दा घरेलु लागे पनि यी समस्याले प्रणालीमै धावा बोलेको बुझ्न कठिन छैन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण घोषणा गरेको छ । भौगोलिक विषमता, पूर्वाधारको कमीले कर्णाली प्रदेशका लागि यो अभियान बीउ हुनसक्छ तर झाँगिने अवसर नहुन सक्छ । विदेशी पर्यटकका लागि केही हदसम्म ट्रान्जिट बनेपनि गन्तव्यका लागि थुप्रै रोटी बेल्नुपर्ने अवस्था छ । आन्तरिक पर्यटकलाई आकर्षित गराउनु पनि छ र पर्यावरण जोगाउने जोखिमी पनि उत्तिक्कै छ । रारा तालमा आन्तरिक पर्यटकको धुइरो लाग्ने गरेको छ । यसलाई पोखराको फेवाताल जस्तो हुनबाट जोगाउने दायित्व पनि उत्तिक्कै छ ।

हामीसंग इमान छ । आत्मविश्वास छ । सिंहको जस्तो हिम्मत छ । अनि झारपातलाई पनि महमा परिणत गर्न सक्ने लगन छ । आफूसंग भएका यी हतियारलाई थप चुस्त, दुरुस्त बनाई मैदानमा जानु छ । गोलकिपर नभएको पोष्टमा गोल हान्नुको मज्जा नभएजस्तै चुनौती नभएको काम गर्नुको औचित्य रहँदैन । त्यसैले सबैसंग सहकार्य र सहयात्राको हात फिँजाएर अघि बढ्ने संकल्प दोहो¥याउँछौं ।

यो धरामा सबैको समान हक छ । सफलताका लागि सबैको प्रतिस्पर्धा छ । उत्कृष्ट विक्छन, निकृष्ट पछि पर्छन् । अहिले पनि हजारौं जीव हरेक क्षण प्रकृतिबाट नासिइरहेका छन् । नयाँ पात पुरानो पातसंग झर्न बनेको हुँदैन । यो नै प्रकृति हो । कुसे न्यूज तेस्रो वर्षको पावन घडीमा हामी संकल्प दोहो¥याउँछौं– कर्णालीका जनताको चुलोभित्रको अर्थशास्त्र हाम्रो व्यावसायिक मुद्दा हुनेछ । कर्णालीबासीको आङमा समृद्धिको घाम लागेका क्षण हाम्रो प्रयास सार्थक भएको ठहर्ने छ । यो महाअभियानमा सबैको साथ, सहयोग अपरिहार्य छ । कुसे न्यूज कैंची भएर तोड्ने हैन, सियो भएर समाज जोडन चाहन्छ ।