परिन्न त- ट्वाँ !

आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे !  साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । बिकरलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला ! उस्को पनि उस्तै हालत । तँ मूला रे । सबैलाई भात नभै नहुने तर तेही भात वाइयात रे । हैट, भाते रे ।

जमानामा यातायात र ढुवानी धानेकै गधाले। तर जस कहाँ पायो र । गाली गर्न परे गधा रे । खेतीको मुख्य कर्ता गोरू । तर कर्म -तपस्वी गोरूलाई गुन कहाँ दिइयो र ?  कसैलाई बुद्धु भन्न परे तलाईं गोरू रे । वाहा, भूलक्कड पनि कतीकती ! गाईलाई माता मानी पुज्ने गोरूको अपमान गर्ने  ! कसैकोमा कोहि पाहुना आउदा, कोहि सुत्केरी हूँदा, कसैले जाँड खाँदा, कसैलाई स्वाद फेर्न पर्यो-बलि चढ्ने भाले ।

हेर न निरीह तेइ भालेलाई घमण्डी रे । बर्ता भाले हुँदो रैछ रे । पाल्नेलाई मनग्गे फाइदा दिने, खानेलाई काइदाको स्वाद दिने सुंगुरलाई पनि कहाँ सुख र ? फोहोरी भन्न परे कस्तो सुंगुर जस्तो रे !  भगवतीलाई खुशी पार्न काट्टिने, प्रसादका रूपमा खाईने, कसैको स्वादका लागि भुट्इने बिचरा बोका । तर कोही मात्तिए कस्तो बोको रे ।

सानैदेखि सुनियो-पित्री भगवान जस्तै पुज्य रे । पूर्खाको इज्जत राख्नु पर्छ रे । फेरी कसैले चकचक गरे तलाई बाँदर रे । घरको हेरदेख गर्ने, भगवानको भैरवको बाहन, मन्दिरमै आसन, मालिकको स्वीकार गर्छ शासन । बेलाबेला पूजिंन्छ पनि । तैपनि कसैले गल्ती गरे-तलाईं कुक्कुर रे !

अरू त अरू जीवनकै सहारा पानीको इज्जत कहाँ र र ? कसैलाई तह लगाको भन्न परे पानी- पानी बनाइदिंएँ रे । आम्मै, त्यति मात्र कहाँ हो र ? जसबिना !  मिनेट बच्न सकिन्न, किन्न पर्दैन । जस्ले धनी-गरिब भनेर बिभेद गर्दैन, तेस्तो प्राणतत्वको स्वाभिमान कहाँ स्वीकार गरिएको छ र ?  कस्तो हावा रे  ? हो, म हावा हूँ, म बिना बाचेर देखाऊ त !  हावाले भने के होला ?  सबैभन्दा बढी चाहिने चिज सबैभन्दा तुच्छ ठानिने क्या । सोचेर ल्याऊदा पारिन्न त- ट्वाँ !!