पचाल झरना अर्थात प्रकृतिले कुँदेको अनुपम सौन्दर्य (हेर्नुस भिडियो डकुमेन्ट्री)

३८१ मिटर उचाई रहेको पचाल झरना दक्षिण एशियाकै अग्लो झरना हो । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका सय पर्यटकीय गन्तव्यमध्ये ६४ औं नम्बरमा पर्दछ ।  सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न कर्णालीको तिरतिरै सान्निघाट, फुगाड हुँदै लाफाको झोलुंगे पुल पार गरेपछि पचाल झरनाको यात्रा तय हुन्छ ।

कालिकोटको जितेबगरबाट करिब २७ किलो मिटर हिँडेपछि लाफागाउँ पुगिन्छ । कर्णाली नदीको किनारमा रहेको लाफागाउँ पचालझरनाबाट बगेका नदी लाफागाड र कर्णाली नदीको दोभानमा पर्छ ।

पचालझरनाबाट सुसेली हाल्दै बगेको पानीको बेग नै लाफागाडमा अनुवाद हुन्छ । । लाफबाट झण्डै १२ किलोमिटर उकालो हिँडेपछि पचालझरनाको नजिक रहेको गाउँ खार्दू पुगिन्छ । स्याउको उर्बरभूमि खार्दूमा स्थानीय सरकारको पहलमा अतिथिहरुको सत्कारका लागि होमस्टे सञ्चालित छ ।

त्यहाँ बनाइएको शहिद पार्कबाट झरनाको दृश्य अत्यन्त मनमोहक देखिन्छ । स्थानीयले पचाल झरनालाई भुतेनी छहराको नामबाट पनि चिन्ने गर्छन् । यस नामभित्र झरनाको सांस्कृतिक परिचय लुकेको छ ।

पचालो नामका देउता भूत भुतेनीसंग संघर्ष गर्दा लुकेर बस्ने स्थानका रुपमा यो ठाउँ परिचित थियो । झरनामा पचालो देउताको बास बसेका कारण कालान्तरमा पचाल छहरो नामाकरण भएका बुढापाकाहरुको मत छ । पचाल झरनालाई वरपर रहेका अरु सहायक झरना धुलछहरा, बासगाड, छिरिगाडले सुनमा सुगन्ध थप्ने काम गरेका छन् ।

पचाल झरना गाउँपालिकामै रहेको बयाल झरना अर्को आकर्षण बनेर रहेको छ । झरनालाई अंगालेर बसेका जंगलसहितको घाँसे मैदान जडिबुटीका अनमोल रत्न पाइने भण्डार हुन् । अझ अनौठो कुरा त के छ भने बर्षमा ६ महिना घाम, ६ महिना ओझेल पर्ने झरनामा हिउँदताका झरनामा वरफको लहरा देख्न पाइन्छ । सीसाजस्तै देखिने यो दृश्य सम्भवत ः धेरैका लागि दुर्लभ खजाना हो । बसन्त ऋतुमा गुराँसले बन फुल्दा झरना बेहुली बनेर घुम्टो उठाउन पुग्छिन् ।

हेर्नुस भिडियो डकुमेन्ट्री