झापाको चन्द्रगढी विमानस्थल १० दिनका लागि अवरुद्ध हुने

दमक, झापाको चन्द्रगढी विमानस्थलको ‘रन वे’ स्तरोन्नति तथा विस्तारका लागि १० दिन उडान अवरुद्ध हुने भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका अनुसार कम्तीमा १० दिनसम्म विमानस्थल बन्द रहने छ । मङ्गलबारदेखि लगातर १० दिन विमानस्थलमा कुनै पनि विमान उडान र अवतरण हुने छैनन् ।

दुइै महिनाअघि नै स्तरोन्नतिका काम भए पनि बीचमा पानी परेकाले रोकिएको र फेरि काम सुरु गर्न लागिएको चन्द्रगढी नागरिक उड्डयान कार्यालय भद्रपुरका प्रमुख पूर्ण चुडालले बताए । १० दिनमा निर्माण व्यवसायीले काम सक्ने प्रतिबद्धता गरेकाले यो अवधिमा सबै उडान रद्द गरिएको उनले बताए ।

दुई महिनाअघि १८ घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नति तथा पार्किङ क्षेत्र विस्तारको काम हुँदै आएको थियो । विमानस्थलको १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण भएकाले त्यो स्तरोन्नति भएको हो ।

प्रमुख चुडालका अनुसार पर्यटन वर्ष सन् २०२० लाईसमेत लक्षित गरेर १२ वर्षपछि पहिलो पटक धावनमार्ग स्तरोन्नतिको काम भएको हो । गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतका लागि १० करोड २३ लाखमा ठेक्का पाएको छ । प्रमुख चुडालका अनुसार बुद्ध, यती, नेपाल वायु सेवा निगम, सौर्य, श्री एयरलाइन्स गरी १० वटा विमान कम्पनीले नियमित उडान भर्दै आएका थिए । यस विमानस्थल भएर नेपाली नागरिकमात्र नभएर भारत, भुटान, बङ्गलादेशका नागरिकसमेत काठमडौँ आउजाउ गर्ने गरेका छन् ।