आदतहरुको कमैया

कविता

आउ धूम्रपान गरौं
एक खिल्ली अहमको चुरोटलाई
मशालको आगोमा बलिरहेको
एक झिल्को ज्वालाले
धुवाँ-धुवाँ बनाएर उडाइदिउँ ।

आउ सुर्ती सेवन गरौं
एक फ्वाँक ईर्ष्याको लामपाते सुर्ती
मिचेर चुनामा रगडी-रगडी
चेपुवामा च्यापेर थुकैथुकले
अपवित्र बनाइदिउँ ।

आउ मद्यपान गरौं
एक प्याला रीसको सोमरस
निट घ्याम्पे हानुँ
र अन्त्यष्टी गरिदिउँ ।

अनि बल्ल एउटा ग्रान्ड पार्टी
मनाउँला तिमी आदतहरुको
निरङ्कुशतन्त्रबाट
स्वतन्त्र भएर
प्रजातन्त्र आएको उपलक्ष्यमा
चियर्स ! चियर्स !