प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा भब्य स्वागत

राज्यमन्त्री लेखीले गरिन् स्वागत

नयाँ दिल्ली, चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री दाहालको भ्रमणबारे राजदूत शंकर शर्माले पनि औपचारिक जानकारी दिएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेको भन्दै ट्विटरमार्फत् जानकारी दिएका छन् ।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् ।.गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत आएका हुन् ।

यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए । बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् ।