यसकारण विप्लवका युवा-विद्यार्थीहरूले गरे बाँकेमा प्रदर्शन

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् ।शनिबार विप्लव नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) र सहायक संगठन, युवा संगठन नेपाल बाँकेले नेपालगन्जको बिपिचोक र कोहलपुरको न्युरोड चोकमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा देशैभर युवा विद्यार्थीहरूले देशैभर गर्ने केन्द्रिय कार्यक्रम अनुरुप बाँकेमा पनि प्रदर्शन गरिएको बताइएको छ ।

कोहलपुरको न्युरोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा भेरी-कर्णाली ब्युरो इन्चार्ज विष्णु अद्वितीय ‘दीप’ले वर्तमान दलाल संसदिय व्यवस्था र दलाल राज्यसत्तामा बसेका विदेशी दलालहरूका लम्पसारवादी प्रवृतिका कारण पटक-पटक विदेशीले नेपाललाई हेपिरहेको बताए । उनले अहिलेको वर्तमान संसदीय व्यवस्थाका कारण देश दिनप्रतिदिन संकटतिर धकेलिरहेको बताउँदै यसको अग्रगामी विकल्प खोजिनु पर्ने बताए । दलाल राज्यसत्ता रहेसम्म नेपाली जनताले विदेशीको हेपाइ सहि राख्नुपर्ने भएकाले यसखाले विदेशी हेपाइ र मिचाईको अन्त्य वैज्ञानिक समाजवादमा मात्र रहेको जिकिर गरे ।

भारतीय अर्धसैनिक बल एसएसबीले दार्चुलाको महाकाली नदिमा तुइन खुस्काएर हत्या गरिएका जय सिंह धामीको हत्या भएको एक महिना पुगिसक्दासम्म कुनै पनि कदम नचाल्नु सरकारको लाचारीपन भएको उनले बताए ।

त्यस्तै, नेपालगन्जको विपिचोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य कमलसिंह बुढाले देशको राष्ट्रिय स्वाधीनता रक्षाको लागि लाखौँ युवाहरू तयार रहेको बताए ।

नेपाली सिमा क्षेत्र भित्र हेलिकप्टर उडाएर भारतीय साम्राज्यवादले ठाडो चुनौति दिएको बताउँदै उनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि लाखौं नेपाली युवाहरू तयार हुनुपर्ने बताए ।