सुदूरपश्चिममा एमालेका १० सांसद एकीकृत समाजवादीतिर

कैलाली, सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमालेबाट निर्वाचित १० सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् ।

सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का नेकपा एसतिर खुलेका छन् । त्यस्तै पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

यस्तै प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गाकुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले पनि नेकपा एस रोज्ने पक्का भएको छ ।

निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो । एमाले उपाध्यक्ष भीम रावलले आफूतिर तान्न सक्ने देखिएपछि मंगलबारै उनीहरुलाई निर्वाचन कार्यालय पठाइएको स्रोतले जनाएको छ । प्रदेश सभामा एमालेका सभामुख बाहेक २४ सांसद छन् ।

विगतमा त्यहाँ १७ जना माधवकुमार नेपाल र सात जना केपी शर्मा ओलीको पक्षमा थिए । माधव नेपालतिरका १७ मध्ये १३ जना नेकपा एसतिर खुलेका हुन् । त्यहाँकी आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले मंगलबार १३ जनाले सनाखत गरेको बताउँदै यो संख्या केही दिनमा अझै बढ्न सक्ने बताएकी छन् ।