अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय सिरिज अनिश्चितकालका लागि स्थगित

काठमाडौं, अफगानिस्तान र पाकिस्तानबीचको तीन खेलको एकदिवसीय सिरिज अनिश्चितकालका लागि स्थगित भएको छ। दुई देशका क्रिकेट बोर्डबीच छलफल भएपछि सिरिज स्थगित गर्ने निर्णय गरिएको छ।

सिरिज श्रीलंकाको हम्बानटोटामा आगामी ३ सेप्टेम्बरदेखि हुने तय थियो। अफगानिस्तानबाट श्रीलंका पुग्न कठिन हुने भएपछि सिरिज स्थगित गरिएको हो।

अफगानिस्तानमा विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि काबुल विमानस्थालबाट व्यवसायिक उडान हुन सकेको छैन।

अफगानिस्तानले स्थलमार्ग हुँदै पाकिस्तान जाने त्यसपछि दुबई हुँदै श्रीलंका पुग्ने योजना बनाएको थियो। तर श्रीलंकाले गत शुक्रबार १० दिनको लकडाउनको घोषणा गरेपछि अफगानिस्तानलाई श्रीलंका पुग्न अझै कठिन हुने देखिएको हो।

अफगानिस्तान क्रिकेट बोर्डले सिरिज स्थगित गर्न गरेको प्रस्ताव स्वीकार गरेको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार काबुल विमानस्थालबाट उडान सम्भव नभएको, खेलाडीको मानसिक अवस्था ठिक नभएको र श्रीलंकामा कोरोना संक्रमण दर बढेकाले सिरिज स्थगित गर्न परेको जनाएको छ। दुवै बोर्डले स्थगित सिरिज २०२२ मा गर्न प्रयास गर्ने जनाएका छन्।