चर्चित कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणबाट निधन भएको छ। ६४ वर्षीय थापाको शनिबार बिहान ४ः४० बजे निधन भएको हो। कलाकार एवम् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको निधन भएको जानकारी दिएका छन्। उनलाई कोरोना पुष्टि भएपछि एक महिनाअघि ललितपुरको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। थापाको स्वास्थ्य जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

थापा पछिल्लो समय चर्चित हास्य टेलिचलचित्र ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए। थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ ‘मह सन्चार’ लगायत थुप्रै सिरियल र चलचित्रमा अभिनय गरिसकेका छन्। उनका श्रीमती, एक छोरो र एक छोरी छन्।