मध्यपश्चिमका विद्यार्थी विश्वविद्यालयका एक नम्बर स्टेक होल्डर हुन्

ध्यपश्चिम विश्वविद्यालयका पूर्ब रजिष्टार डा. महेन्द्र कुमार मल्लसँंग शैक्षिक,राजनैतिक,साहित्यिक सन्र्दभमा कुसे न्युज डटकमका साहित्य सम्पादक धिरेन अनुपमले गरेको भलाकुसारी ।

– कुसे न्युजमा स्वागत छ ।

धन्यवाद।

– दिनहरु कसरी ब्यतित गर्दै हुनुहुन्छ ?

विहानको समय अध्ययन,अध्यापन र लेखनमा बित्छ।त्यसपछिका समयहरू विभिन्न विषय क्षेत्रका बैठक,छलफल र कार्यक्रमहरूमा बित्ने गर्छ।आजभोलिको महत्त्वपूर्ण समय प्राज्ञिक र सिर्जनात्मक लेखनमा खर्चेको छु।

-तपाईंको जन्म कहाँ र कहिले भयो ?

मेरो जन्म वि.सं. २०२६ साल भाद्र २६ गते दैलेख जिल्ला,डुङ्गेश्वर गाउँपालिका,वार्ड नं ६ ठूलो वइरी भन्ने ठाउँमा भएको थियो। कक्षा ३ सम्मको अध्ययनपश्चात सुर्खेत बसाइँ सरिएको थियो।

– बाल्यकालदेखि अहिले सम्मको आफ्नो जिवनलाई कसरी सम्झनु हुन्छ ?

जीवन असाध्यै उतारचढावपूर्ण रह्यो।बालसुलभ चपलता,युवाजन्य चञ्चलताका साथै भविष्यलाई बुनिएका सपनाहरू साकार पार्न गरिएका प्रयत्न ज्यादै रोचक र सनसनीपूर्ण रहेका छन्। संघर्ष र परिश्रमले नै यहाँसम्म ल्याइपुर्यायो

-फेशबुका वालमा खुब सुन्दर कविता,गजल,मुक्तक पोष्ट गरिरहनु भएको हुन्छ,यति सुन्दर रचना सृर्जना गर्ने जोस कसरी चल्छ ? संग्रह प्रकाशन गर्ने तयारीमा हुनुहुन्छ कि ?

साहित्य चेतनाको सर्वोत्तम अभिव्यक्ति हो। सिर्जनात्मक लेखनले त सन्तानको सुख नै बिर्साएको हुन्छ।अर्थात् प्रत्येक सिर्जना लोभलाग्दो सन्तानका रूपमा प्रकटीकृत हुन्छन् । म त झन भाषा साहित्यको विद्यार्थी । म सिर्जनात्मक लेखनमा आकृष्ट हुनु स्वाभाविक हो। मैले कविताका विविध रूपहरूमा कलम चलाइरहेको छु। मुक्तक,गजल र फुटकर कविताहरूको रचनामा निरन्तर लागिरहेको छु। यही आउँदो असोजसम्ममा कविता सङ्ग्रह प्रकाशनको तयारीमा छ।

-साहित्य केहो ? राज्यले श्रष्टाहरुलाई गर्ने व्यवहार कस्तो देख्नु हुन्छ ?

भोगाइ र अनुभूतिहरूको कलात्मक अभिव्यक्ति नै साहित्य हो।समृद्ध र स्तरीय साहित्यले राष्ट्रलाई चिनाएको हुन्छ। यस्तो महत्त्व राख्ने विषय क्षेत्र पनि राज्यका नजरबाट उपेक्षित रहेको छ । नेतृत्वकर्ताहरूको चेतनाको अभावले गर्दा यसो हुन गएको हो ।

-साहित्यको बर्गिय चरित्र हुन्छकी हुदैन ?

साहित्य सार्वभौम र सार्वकालिक हुनु राम्रो हो। तर म कला-कलाका लागि मात्र भन्ने पक्षमा छैन। बगैँचाको फूल हेरेर प्रत्येक मानिस आफ्नै प्रकारको अनुभूतिमा रमिरहेको हुन्छ । साहित्यरूपी बगैँचामा पनि विविधताको अभिव्यक्ति हुन्छ,तर साहित्य कुनै खास वर्गको हतियार बन्नुपर्छ वा कुनै खास विचारको मात्र वाहक बन्नुपर्छ भन्ने मान्यताको वर्खिलापमा छु म।

-केही प्राज्ञिक बौद्धिक ब्याक्तित्वहरु नेताहरुको चाप्लुसी गरेको देखिन्छ । यसरी उहाँहरुनै नेताहरुको पछाडी भागदौड गरेर दगुरी रहँदा उहाँहरुबाट बिद्यार्थीले के सिक्ने ?

जुन मानिसले समाजलाई बाटो देखाउनुपर्ने हो तिनैले बाटो बिराए भने समाज उँधो लाग्नु स्वाभाविक छ।

-मध्य पश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले गरेको आन्दोलन लाई कसरी बुझ्नु भएको छ ?

मध्यपच्शिमका विद्यार्थी विश्वविद्यालयको एक नम्वरको स्टेक होल्डर हो।आफ्ना हकहितमा आवाज उठाउनु उनीहरूको नैसर्गिक अधिकार हो। तर त्यो सम्यक र तार्किक ढङ्ले अभिव्यक्त हुनुपर्छ।

-अहिलेको आधुनिक युरोप जस्तो हाम्रो नेपाल कहिले बन्नला ? आधुनिक नेपाल बनाउनमा यिनै नेताबाट सम्भव देख्नु हुन्छ या हुदैन ?

नेतृत्वमा सपना र सपना पूरा गर्ने दृढ इच्छाशक्ति भएमा देश २० वर्षभित्रमा युरोप बन्नसक्छ,तर दुरदर्शी नेतृत्व चाहिन्छ।

-केही दिन अघी सिमा बिवादको बिषयलाई लिएर भारतको असम र मिजोरम राज्यका प्रहरीबिच गोलि हानाहान भयो । सत्ता बाहिर रहदा चरम राष्ट्रबादी देखिने सत्तामा पुगे लम्पसारबादी हुने नेताहरुको यस्तो व्यबहारले भारतले अतिक्रमण गरेको भुमि फिर्ता हुने सम्भावना कतिको देख्नु हुन्छ ? जमिन फिर्ता लिन राज्यका शासकको भुमिका कस्तो देख्नु भएको छ ?

अतिक्रमित जमिनको लगत लिएर स-प्रमाण भारतसँग कुटनीतिक पहल गर्नु आवश्यक छ।

-नेपालको शिक्षा अनु-उत्पादक भयो भन्ने कुरा पहिलेदेखि बहस हुँदै आएको छ, कुरा केहो ? आत्म निर्भर मुखी शिक्षा हुनलाई शिक्षा र शिक्षा निति कस्तो हुनु पर्ला ?

शिक्षामा सैद्धान्तिक ज्ञानका साथसाथै व्यवहारिक ज्ञानको हस्तान्तरण प्रभावकारी बनाइनु आवश्यक देखिन्छ।

-जीवन केहो जस्तो लाग्छ ?

कर्मले उपलब्धि हासिल गर्ने अवसर नै जीवन हो।

-यौन,जीवन र मृत्युलाई कसरी बुझ्नु हुन्छ ?

सृष्टि,संघर्ष र मानवसत्यको अर्को नाम नै यौन,जीवन र मृत्यु हो।

-तपाईं त त्यो अभियानको सदस्य सचिवनै हुनुहुन्थ्यो ?  मध्यपश्चिम विश्वबिद्यालय स्थापना गर्दाका तितामिठा क्षणहरुलाई बताई दिनुस न ? मप विश्वविद्यालय कसरी स्थापना गर्नुभयो र त्यतिखेर राजनीति दल र नागरिक समाजका अगुवाहरुको सहयोग के कति रहेको थियो ?

उच्चशिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्न र त्रिभुवन विश्वविद्यालयको उच्चशिक्षाको भारलाई कम गर्न राज्यले लिएको वहु विश्वविद्यालयको अवधारणा बमोजिम हामीले पनि साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा एउटा विश्वविद्यालय स्थापना गर्न आवश्यक छ । भन्ने निष्कर्ष निकालेर वि सं २०५४ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना मूलः समिति गठन गरेर नागरिक स्तरबाट स्थापनाको प्रयत्न अघि बढायौँ।म स्वयम् त्यसको सदस्य सचिव भएर जिम्मेवारी निर्वाह गरेको थिएँ।उसकै पहलबाट नेपाल सरकारले वि सं २०५९ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययन कायर्दल,वि सं २०६१ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रारूप निर्माण कार्यदल र वि. सं. २०६३ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय तयारी कार्यदल गठन गरिएको थियो।

कार्यदलको सदस्यका रूपमा मैलेपनि सघाउ पुर्याएको थिएँ। वि सं २०६१ देखि त निरन्तर रूपमा आर्थिक सङ्कलनको अभियान नै अघि बढाइएको थियो। वि सं २०६५ सालमा महायज्ञ नै लगाएर कुइनेपानीको जङ्गलक्षेत्र र अन्य स्थानमा जग्गाजमिनहरू प्राप्त गर्ने र करिब २८ करोड नगद प्राप्तिको प्रक्रिया अघि बढाइएको थियो।यसै प्रयत्नका कारण वि सं २०६५ सालमा विश्वविद्यालय स्थापनाको सैद्धान्तिक निर्णय भएको थियो भने वि सं २०६७ आषाढ ३ गते विश्वविद्यालय ऐनमा महामहिम राष्ट्रपतिद्वारा लालमोहर लगाई विश्वविद्यालयलाई विधिवत् स्थापना गरिएको थियो। कर्णालीका राजनैतिक दलहरु तथा नागरिक अगुवाहरुको सहयोग अनुकरणिय रह्यो ।

-मैले सोध्न भुलेका र यहाँले राख्न चाहानु भएका छुटेका कुरा छन् भने राख्न सक्नु हुनेछ ?

खासै त्यस्तो केही छैन । मेरा केही जिवन भोगाईका अनुभुति राख्ने ठाउँ दिनु भएकोमा कुसे न्युज परिवार तथा धिरेन बावुलाई धन्यवाद दिन चाहान्छु ।