अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको सन्यास

काठमाडौं,राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जनाएका छन्।

नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ,समर्थन,माया र हौसला दिने सबैप्रति ऋणी रहने जानकारी दिएका छन् ।२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु, पारसले लेखेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनको भनाइ छ । नेपालका लागि उनले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित ३१५ रन बनाएका छन् । त्यस्तै ३३ टी–२० खेलमा एक शतक र ४ अर्ध शतकसहित उनले ७९९ रन बनाएका छन् । एक दिवसीयमा उनले ९ विकेट तथा टी–२० मा ८ विकेट लिन सफल भएका छन् ।