विप्लव नेकपाद्धारा जयसिंह धामी हत्याको विरुद्धमा नेपालगन्जमा प्रदर्शन

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले केही दिन पहिले दार्चुलामा भारतीय सुरक्षा फौज एसएसबिद्धारा हत्या गरिएका नेपाली नागरिक जयसिंह धामीको विषयलाई लिएर विरोध प्रदर्शन गरेको छ ।दार्चुलामा केही दिन पहिले तुईन तरेर नदी पार गर्नेक्रममा एसएसबिले तुईन चुडाएर नेपाली नागरिक धामीलाई वेपत्ता पारेको घटनाको विरोध गर्दै सोमबार नेपालगन्जको धम्बोजी चोकमा प्रदर्शन गरेको हो ।“भारतीय साम्राज्यवाद मुर्दावाद, सिमामा भारतीय ज्यादती बन्द गर, नेपाल र नेपालीमाथिको हत्याहिंसा बन्द गर, जयसिंह धामीलाई न्याय दे, राष्ट्रिय स्वधिनताको रक्षा गरौँ, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ती जिन्दावाद लगायतका नारासहित धम्बोजी चोक वरिपरि र्याली गरि कोणसभामा परिणत भएको थियो ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया जिल्ला इन्चार्ज दीपक, बाँके जिल्ला सेक्रेटरी अनिल लगायताका नेताहरूले सम्बोधन गरेका थिए ।कोणसभामा सम्बोधन गर्दै नेताहरूले भारतीय सुरक्षा फौजद्धारा दार्चुलामा अमानवीय तवरबाट घटाइएको उक्त घटनाको भत्सर्ना गर्दै घटना संलग्न दोषीलाई कडा कारबाही गर्न र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।साथै सम्बोधन गर्ने नेताहरूले भारतीय हेपाह प्रवृत्ति विरुद्ध डटेर लड्न प्रगतिशील, बुद्धिजीवी, देशभक्त आम सचेत नागरिकहरूलाई आग्रह समेत गरेका छन् ।पार्टीको केन्द्रीय सर्कुलर अनुसार बाँके, बर्दिया, सुर्खेत, हुम्ला, जाजरकोट, मुगु, जुम्ला, कालिकोट, अछाम, कैलाली, कन्चनपुर लगायत देशैभरका जिल्लाहरूमा विप्लव नेकपाले उक्त घटनाको विरोध स्वरूप सोमबार प्रदर्शन गरेको छ ।