सरकारलाई भारतसँग गम्भीर आपत्ति जनाऊन माओवादी केन्द्रको आग्रह

काठमाडौं,सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ ।माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

सँगै भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने उनको ठहर छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भनेका छन्, ‘भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।’

शुक्रबार विहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा फुस्काइदिएका थिए । तुइनको तारसहित माहाकाली नदीमा खसेका जयसिंह बेपत्ता छन् । घटनाबारे छानविन गर्न गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाएको छ । भारतले भने यो घटनामा एसएसबीको संलग्नता नरहेको जिकीर गरेको छ ।