एलेक्जान्डर शाहले बनाए राष्ट्रिय कीर्तिमान

काठमाडौं, टोकियो ओलम्पिक अन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । सय मिटर फ्रिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यस अघि उनकै नाममा थियो। नेपालमा भएको १३औं सागमा उनले ५४-१३ सेकेन्डको कीर्तिमान बनाएका थिए।

आफ्नै नामको कीर्तिमान तोडेका उनी पहिलो हिट्समा पहिलो भए। सात जना पौडिएको हिड्समा कोसोभोका खेलाडी दोस्रो भए। प्यालेस्टाइनका खेलाडी तेस्रो, गुएनाका चौथो, भुटानका पाँचौ, माल्दिभ्सका सातौ र सोलोमन आइल्यान्डका खेलाडी सातौं भए।

समग्रमा ५९औं भएसँगै उनी पहिलो चरणबाटै बाहिरिए। यो स्पर्धामा कुल ७० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धाका शीर्ष १६ खेलाडी सेमिफाइनल पुगेका छन्।

पौडीकी अर्की खेलाडी गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइलमा भोलि प्रतिस्पर्धा गर्नेछिन्।

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।

यसअघि नेपालका दुई खेलाडीले टोकियो ‌ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।