शिल्पाका पति कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो । उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्‍याउने गरेको आरोपमा पक्राउ गरेको थियो ।

मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा प्रहरीमा एक उजुरी दर्ता भएको थियो । सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ परेका हुन् । प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।