विप्लव र कमल थापा बिच भेटवार्ता

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच शुक्रबार बिहान भएको भेटवार्ताबाट वर्तमान संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालिएको छ । थापा निवास बूढानीलकण्ठमा भएको भेटवार्ताका क्रममा दुवै नेता अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भएको भन्दै विवादित विषयमा जनमत सङ्ग्रहमा गइनुपर्नेमा सहमत भएका हुन् ।राप्रपाले सङ्घीयता, धर्मनिरपेक्षता, राजतन्त्रलगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै आएको छ भने विप्लवले पनि वैज्ञानिक समाजवादका लागि जनमत सङ्ग्रहमा जानुपर्ने बताउँदै आएका छन् । पछिल्ला दिनमा उनले यसका लागि निरन्तर लबिङ गर्दै आएका छन् । विप्लव नेकपाले विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटवार्तामा जनमत सङ्ग्रहको कुरा उठाउने गरेका छन् । यही क्रममा शुक्रबारको भेटमा पनि विप्लवले अहिलेको व्यवस्थाले राजनीतिक निकास नदिने भन्दै जनमत सङ्ग्रहमा जानुपर्ने धारणा थापासँग राखेका थिए ।

भेटमा सहभागी राप्रपा नेता बुद्धिमान तामाङले अहिलेको व्यवस्थाप्रति विप्लवमा गम्भीर चिन्ता पाइएको र त्यसको निकासका लागि जनमत सङ्ग्रह उपयुक्त विकल्प हो भन्ने धारणा राखेको बताए । ‘अहिलेको व्यवस्था दलाल पुँजीपतिको जस्तो भयो, त्यसकारण जनताले नै नेतृत्व गर्ने वैज्ञानिक समाजवादको व्यवस्था हुनुपर्छ भन्ने विप्लवको धारणा रह्यो,’ सो भेटमा राप्रपाको तर्फबाट सहभागी भएका तामाङले रातोपाटीसँग भने, ‘हामीले पनि अहिलेको व्यवस्था फेल भइसकेको निष्कर्ष सुनायौँ । प्रतिनिधिसभा विघटन लगायतका विवादमा अदालतले जुन किसिमको व्याख्या गरेको छ, यसलाई हेर्ने हो भने व्यवस्था फेल भएको सङ्केत हो । ’

​उनले अहिलेको व्यवस्थाबाट देश चल्न सक्दैन भन्ने दुवै दलको निष्कर्ष रहेको पनि धारणा राखे । ‘यो व्यवस्थाले गरिब, दलित, जनजाति, आदिवासी, मधेसी, पिछडा वर्ग, हित हुन सक्दैन भन्ने उहाँहरूको कुरा थियो,’तामाङले भने । उनले १२ बुँदे सम्झौताको जगमा जुन सिस्टमको विकास भएको छ त्यो नै गलत भएकाले त्यसलाई सच्याइनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा रहेको बताए । त्यही १२ बुँदेले अहिलेको स्थिति आएको उनको दाबी छ ।

छलफलका क्रममा अध्यक्ष कमल थापाले विप्लवदेखि राजासम्म अटाउने व्यवस्था चाहिने भन्दै त्यसका लागि आफूले निरन्तर आवाज उठाउँदा आएको समेत बताएका थिए । भेटका क्रममा थापाले शान्तिपूर्ण प्रक्रियाबाटै समस्याको समाधान गरिनुपर्ने भन्दै अब हिंसात्मक बाटो जान नहुनेमा पनि जोड दिएका थिए ।

यसैगरी परिवर्तनकारी र परम्परागत शक्तिका बीच सामञ्जस्यता कायम गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा छलफल गर्दै जाने समझदारी पनि दुई पार्टीबीच भएको छ । यस्तै राष्ट्रियता र जनजीविकाको मुद्दालाई प्राथमिकता दिने विषयमा पनि समझदारी भएको छ ।

पछिल्लो समय विभिन्न राजनीतिक दलका नेतालाई भेट्दै हिँडेका महासचिव विप्लव थापालाई भेट्न विप्लव शुक्रबार बूढानीलकण्ठ पुगेका हुन् । बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् । उनले ट्वीटरमार्फत भनेका छन्, ‘ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरू बीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो।’

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको पनि बताएका छन् । गत फागुन २१ मा तत्कालीन केपी ओली नेतृत्वको सरकार र विप्लवबीच ३ बुँदे सहमति भएर सो पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । दुई परस्पर धारको राजनीति गर्ने पार्टीका नेतृत्वबीच भएको भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।