भारतमा दैनिक भास्करको कार्यालयमा प्रहरीको छापा

छापा मार्नुको कारण अझै खुलेन

एजेन्सी,भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज सीबीडीटीले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छिन् ।

सुरभीले बीबीसीसँगको कुराकानीमा भनेकी छिन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी छ । यस विषयमा अहिले हामी यति मात्र बताउन सक्छौं ।’ दैनिक भास्करका नेशनल इडिटर लक्ष्मीप्रसाद पन्तले भने, ‘जयपुर कार्यालयमा केही प्रहरीको टोली पुगेको छ । उनीहरुले के अनुसन्धान गरिरहेका छन् भन्ने हामीलाई थाहा छैन । म कार्यालय जाँदै छु ।’

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार पत्रिकाका प्रमोटर्सहरुको घर तथा कार्यालयमा छुट्टाछुटै टोलीले छापा मारेको हो । मध्यप्रदेशको भारतीय कांग्रेस पार्टीका नेता दिग्विजय सिंहले समाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै आधा दर्जनभन्दा धेरै स्थानमा छापा मारिएको बताएका छन् ।

दैनिक भास्कर भारतको चर्चित हिन्दी पत्रिका हो । दैनिक भास्करले कोरोना महामारीको क्रममा धेरै खोजमूलक समाचार प्रकाशित गरेको छ । जसमा सरकारले कोरोना नियन्त्रणको लागि चालेको कदमबारे प्रश्न उठाइएको थियो । साथै उसले केन्द्र सरकारले कोरोनाबाट लुकाएको वा गलत सन्देश फैलाएको समाचार पनि प्रकाशित गर्दै आएको थियो ।

यसअघि गत फेब्रुअरीमा भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेटले न्युजक्लिक डट इनसँग जोडिएका पत्रकारहरु र अधिकारीहरुको घरमा छापा मारेको थियो ।