दाङमा बाघको छालासहित दुईजना पक्राउ

दाङ,दाङमा बाघको छालासहित २ जना पक्राउ परेका छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय रामबहादुर दमाईं र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

बुधबार बिहान करिब साढे ३ बजेतिर दाङ घोराही उपमहानगरपालिका ३ गोग्लीमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारेपछि नियमित चेकिङमा खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा सिमेन्टको बोराभित्र टाटेपाटे बाघको छाला फेला परेको थियो ।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पुच्छरदेखि टाउकोसम्म ५ फिट २ इन्च लम्बाइ र छातीको भागको चौडाइ १ फिट ४ इन्च भएको नंग्रा र जुँगासहितको छाला फेला परेको प्रहरीले जनाएको छ ।