आईएसद्वारा आत्मघाती बम विस्फोट कम्तीमा ३५ जनाको मृत्यु

६० भन्दा बढी घाइते

काठमाडौँ,इराकको राजधानी बगदादमा सोमबार गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । बगदादको बजार क्षेत्रमा भएको बम विस्फोटमा ६० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । इदको पूर्वसन्ध्यामा किनमेलका लागि बजारमा भीडभाड लागेका बेला बम विस्फोट गराइएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेट (आईएस) ले विस्फोटको जिम्मा लिएको छ । नासीर न्युज एजेन्सीलाई टेलिग्राममार्फत आफूले विस्फोट गराएको आईएसले जानकारी दिएको छ । त्यस्तै बजारमा भीड भएकाले बेला आफ्ना एकजना लडाकुले आत्मघाती विस्फोट गराएको पनि आईएसको दाबी छ । गम्भीर घाइतेहरूको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने अस्पतालले जनाएका छन् ।

आक्रमणपछि प्रधानमन्त्री मुस्तफा अल काधिमीले सुरक्षा अधिकारीहरुको आकस्किम बैठक बोलाएका छन् । त्यस्तै राष्ट्रपति बह्राम सालिहले साद्र सहरमा सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले आतंकवादलाई जरैबाट उखेलिने प्रतिबद्धता व्यक्त गरेका छन् ।बगदादमा पछिल्लो ६ महिनायताकै सबैभन्दा ठूलो विस्फोट भएको बताइएको छ ।

यसअघि अप्रिलमा कार बम विस्फोट गराइँदा ४ जनाको मृत्यु भएको थियो भने करिब २० जना घाइते भएका थिए । त्यस्तै जनवरीमा तायारन स्क्वायरमा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको थियो । सन् २०१७ को अन्त्यमा इराक सरकारले आईएसमाथि जित हात पारेको दाबी गरे पनि इराकमा आईएसको स्लिपर सेल लगातार सक्रिय रहेको पाइएको छ ।