टोकियो ओलम्पिक दर्शकविहीन बनाउने तयारी

एजेन्सी,कोरोना महामारीको छायाले टोकियो ओलम्पिकलाई छाडेको छैन। संक्रमण लगातार बढिरहँदा टोकियोमा आपत्कालीन अवस्था घोषणा गरिएको छ। यस्तोमा जापानका प्रधानमन्त्री जोशिहिदे सुगाले टोकियो ओलम्पिकका सबै इभेन्ट दर्शकविहीन हुन सक्ने बताएका छन्।

यद्धपि यसको निर्णय भने अन्तराष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोक्यो नगरपालिका, ओलम्पिक आयोजक समिति तथा जापान सरकारको संयुक्त बैठकले गर्नेछ। यद्धपि, जापान सरकारको प्रस्तावलाई नकार्ने सम्‍भावना कमजोर भएकाले प्रतियोगिता दर्शनविहीन हुने खतरा बढेको हो।

जापान सरकारले गत सोमबार टोकियोमा आपतकालीन अवस्थाको घोषणा गरेको थियो। २२ अगष्टसम्म आपतकालीन अवस्था कायम रहनेछ। ओलम्पिकको समापन २३ अगष्टमा हुनेछ। कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि प्रधानमन्त्री सुगाले यस्तो अवस्थामा दर्शकको अनुमति दिन मुस्कील हुने बताए।

टोकियोमा बिहीबार संक्रमणको ८९६ नयाँ केस देखिएको थियो।यसअघिको हप्तामा ६७३ नयाँ केस देखिएको थियो। जुन एकहप्तामा ३३ प्रतिशतले बढेको हो। टोकियोमा एकै दिनमा सर्वाधिक १३ मे मा देखिएको थियो। उक्त दिन १,०१० जना नयाँ संक्रमित देखिएका थिए।

आपतकालका बीच ओलम्पिक भेन्युमा सिर्फ स्पोन्सर तथा खेल अफिसियललाई मात्र भित्र जान दिन सकिने जनाइएको छ। ओपनिङ पनि दर्शकको उपस्थितिबिना आयोजना हुन सक्ने जनाइएको छ।

कोरोना महामारीका कारण जापानका धेरै जनता अहिले ओलम्पिकको विपक्षमा रहेका छन्। धेरै जनता अझैपनि ओलम्पिक रद्ध गर्नु पर्नै पक्षमा रहेको विभन्न सर्वेहरूले जनाएका छन्।

टर्च रिले स्थगित

जापान सरकारले महामारीका कारण टोकियो शहरमा शुक्रबार बाट सुरु हुने तय भएको टर्च रिले रद्ध गरेको छ। जापानमा राष्ट्रियस्तरमा टर्च रिले मार्चमा सुरू गरिएको थियो। शुक्रबार देखि टोकियो शहरमा यसलाई घुमाउने कार्यक्रम रहेको थियो। क्योटो तथा हिरोशिमामा पहिलेनै सार्वजानिक सडकमा रिलेको आयोजना गरिएको थियो।

जापानमा ओलम्पिकको आयोजनालाई लिएर कति धेरै असन्तुष्टि छ भन्ने कुरा टर्च रिलेका दौरान पनि पुष्टि भएको छ। धेरै मानिसहरुले उक्त रिले अवरोधको प्रयास गरेका थिए। आधा भन्दा धेरै ठाँउमा मानिसहरुले रिलेको विरोध गरेका थिए। कतिपय ठाउँमा नो ओलम्पिक स्टप द गेम्सु को नारा लगाइएको थियो।