जीवन कर्म हो

पछिल्लो चरणमा युवा पंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा परिचित रहेको छ । यस्तै नेपाली गजलको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीकालागि अमुल्य योगदान निभाई रहनु भएका सल्यान कला साहित्य परिषद्का संयोजक लोकेश जलनसंग हाम्रा साहित्य सम्पादक धिरेन अनुपमले गरेको साहित्यिक भलाकुसारी ।

 कुसे न्युजमा सवागत छ यहाँलाई ।

-धन्यवाद ।

 दिनहरु कसरी बिताउदै हुनुहुन्छ ?

– मेरा दैनिकीलाई देशको लकडाउनले विचलित पारेको छैन । परिवारबाट बचेको समय साथी सर्कलहरुसंगको साहित्य संवाद,साहित्य सिर्जन र विभिन्न पुस्तक अध्ययन यस्तै यस्तैमा दिनहरु बितिरहेका छन् ।

तपाईं नेपाली सैनिकमा कार्यरत एक जवानपनि हुनुहुन्थ्यो एउटा परिपक्क सिपाई बन्न गुरुको आवश्यक पर्छ । तर साहित्य सिर्जना गर्दा कसैलाई गुरु मान्नु पर्ने अवस्था सृर्जना भयो या भएन र यहाँको लेखन प्रारम्भ कसरी शुरु भयो ?

-केही साहित्यकार अग्रज व्यक्तित्वहरुले राय,सल्लाह,सुझाव दिएपनि मेरो हकमा कसैलाई गुरु मान्नुपर्ने अवस्था सिर्जना भएन।मेरा रुचि,मेहनत र अध्ययननै मेरा गुरु हुन।लेखनिको प्रारम्भ स्कुलमा हुने साहित्यका विभिन्न प्रतियोगिताहरुबाट सुरु भयो । नेपाली साहित्यको श्रीवृद्धीका लागि दीर्घकालीन टिक्ने मनसायले लागिरहेको छु ।

तपाईं सल्यान कला साहित्य परिषद्को संयोजकपनि हुनुहुन्छ। सल्यानमा गजलको माहोल पहिले खासै थिएन अहिले राम्रो बनिरहेको देखिन्छ त्यो माहोल बनाउन कसरी सम्भव भयो ?

-सल्यानमा साहित्यिक त्यसैमा गजल माहोल खासै थिएन । यो सजिलै बनेको माहोल हैन ।सल्यानको साहित्यमा अग्रजहरु नभएर पनि सुरुवाती चरणमा मैले निकै उल्झन झेल्नुपरेको थियो ।मबाट हामी भइसकेपछि समकालीन हामीले पृथक योजनामा अथक कोसिसले गजल महफिलको निरन्तर शृङ्खलासगै साहित्यका विभिन्न कार्यक्रमहरु जिल्लाका भिन्नभिन्न ठाउँमा सम्पन्न गर्दै आइरहेका छौ ।जसले पछिल्लो समय सल्यानको साहित्यमा निकै रौनक छाएको छ।यो रौनकको माहोल सम्भव बनाउन सल्यान कला साहित्य परिषद्का सम्पुर्ण पदाधिकारीको अथक देन हो ।

नेपाली गजलको श्रीवृद्धी गर्नुभन्दा पनि गजलको श्रीबृद्धीलाई ओटहालेर रोक्ने काम भईरहेको छ। नयाँ सर्जकहरुलाई निरासा बनाउने काम भइरहदा यसको समाधानको उपाय के हुन सक्छ ?

-नेपाली गजलको श्रीबृद्धीमा ओट हालेर रोक्न खोज्ने केही खलेहरुलाइ नेपाली गजल स्वयंले किचेर यहाँसम्म आइपुगिसकेको छ । नेपाली गजलको श्रीबुद्धी न ओट हालेर रोकिन्छ न जिउँदो श्रद्धाञ्जली दिएर रोकिन्छ न त गणितीय अंक गन्न सिकाउने संस्कृतका पण्डितहरुको शिक्षाले रोक्छ।नरोकिएपनि रोक्ने हर्कत भने बेलावखत भइरन्छ जस्को असर नव सर्जकहरुमा पर्न जान्छ ।ओट हाल्ने हाल्न लगाउने गणितीय अंक गन्न सिक्ने शिष्य सिकाउने संस्कृतका पण्डितहरु र नेपाली गजललाई ओटको प्रभाव नगरि गतिमा कुदाइरहेका नेपाली गजलका कुशल चालकहरुसंग विभेद नभएमा यसको समाधान हुन्छ । 

केहीदिन अघि यहालाई संकेत गरेतापनि मुलतह गैरबहरमा लेख्ने गजलकारहरुलाई श्रद्धाञ्जली दिने काम भयो ? खासमा उहाँ र तपाईं बिचमा भएको कुरो के थियो ? श्रद्धाञ्जली शब्दलाई कसरी लिनु हुन्छ ?

-म उहालाई व्यक्तिगत रुपमा चिन्दिन ।गजलकै बिषयमा संजालमा आएको स्टाटसमा मैले आफ्नो प्रतिक्रिया जनाएको थिए ।त्यहीँ प्रतिकृयालाइ लिएर गजलको बिषयमा जोडेर श्रद्धाञ्जली दिनु भएछ ।यसले उहाको चरित्र चित्रण भएको छ भने सिङ्गो बहरबादिहरुकै सभ्यता र संस्कारमाथि नै नैतिक प्रश्न खडा गरिदिएको छ ।गैरबहरका लेखकबाट मात्रै हैन पाठक,दर्शक,श्रोताहरुबाट समेत त्यस्ता हर्कतको भत्र्सना गरिसकेका छन् । उहाँले हामिलाई श्रदान्जली व्यक्त गरेतापनि म उहाँको लागि अश्वस्थामाको जस्तो चिर आयुको कामना गर्दछु ।

समय सापेक्षतमा रहेर सल्यानमा साहित्य गतिबिधी तिव्ररुपले गरिरहनु भएको छ। भर्चुअल सल्यान मुक्तक किङ्ग चलि रहेको छ। अनुज देखि बरिष्टहरुले के कती योगदान सल्यान साहित्य श्रीवृद्धीका लागि गरेको देखिन्छ बताई दिनु न ?

– जेष्ठमा हुने महफिल देश लकडाउनमा परेपछि हामीले मुक्तक किङ चलाइरहेका छौ ।बरिष्ट कसलाई भन्नू भो ? साहित्यका अग्रजलाई  सल्यानमापनि साहित्यका अग्रहरु छन् र ? म अघिपनि त बोलीसके ।बरु पछिल्लो समय स्थानीय सरकार जनप्रतिनिधिहरुबाट सल्यानको साहित्यमा योगदान भइरहेको छ । र अनुजबाट हामीले सोचेभन्दा बढी साथ सहयोग पाइरहेका छौ ।

जीवन केहो जस्तो लाग्छ र कसरी व्याख्या गर्नु हुन्छ ?

-जीवन कर्म हो मुर्दा बनेपछि चितामा नग्न चढ्नु पर्ने भएतापनि मान्छे जीवन रहुन्जेल कर्म गर्न छोड्दैन । र कर्म गरिरहनु पर्छ । तव सजिव प्राणि हुनुको अर्थ रहन्छ ।

राज्यले श्रष्टा र साहित्यको लागि के गर्दे आओस् भन्ने लाग्छ ?

-साहित्य र श्रष्टा राष्ट्रका अमुल्य गहना हुन् । गहनालाई कसरी जोगाएर राख्ने भन्ने राज्यको दायित्व हो । साहित्य विना समाज सकारात्मक रुपमा परिचालन हुन सक्दैन । भनिन्छ पहिला पहिला वलिराजाको देशमा पनि साहित्य मन्थन वाचन वेगर राज्यका कामकाजहरु शुभमुहर्त हुदैनथे रे । यो त एक्कासौँ सताप्दीको आधुनिक युग हो । यस युगमा राज्य चलाउने शासकहरु साहित्यप्रति बिमुख भएको खण्डमा देशले कसरी प्रगती गर्नसक्छ । वाटो खनिनुु,विजुली वल्नुमात्रै विकास होईन त्यसैले साहित्य र श्रष्टाप्रति राज्य जिम्वेवार हुन जरुरी छ ।

मैले सोध्न बिर्सेका र यहाँले राख्न खोजेका बाँकी कुरा केही छन भने राख्न सक्नु हुनेछ ?

-हामी साहित्यका साधकलाइ कोही बाधक नबनिदिनोस् ।हामीले साहित्यबाट विकृति चिरिरहेका छौ ।देश बोलिरहेका छौं ।देशबासिका समस्या समाधान गर्न खोजीरहेका छौ ।सभ्यता,संस्कार सिकाइरहेका छौ ।साहित्य समाजको ऐना हो यो निकै संबेदनसिल छ । साधकहरु निरन्तर साधना गरौ केही उल्झनहरु आइपरेपनि झेलौ हतोत्साही नहौ । नेपाली मौलिक गजल भनेको स्वच्छन्द (गैरवहर) हो । मेरा केही शब्द राख्ने मौका दिनु भएकोमा धिरेन सर र कुसे न्युजलाई हार्दिक आभार व्यक्त गर्दछु ।