सर्वसम्मतिले पारित भयो संविधान संशोधन विधेयक

काठमाडौं, प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

संविधान संशोधनमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले संविधान संशोधनको समर्थन जनाएका थिए। सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो।

‘हुन्न भन्ने आवाज सुनिएन तसर्थ नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु’ , निर्णायार्थ प्रस्तुत गरेपछि सभामुख सापकोटाले संविधान संशोधन प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका हुन् ।

संविधानको दोस्रो संशोधनका लागि सरकारले जेठ १८ गते विधेयक संसदमा प्रस्तुत गरेको थियो। निशान छाप भित्रको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सामा समेट्ने गरी सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको थियो। प्रतितनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।