यस्तो छ लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ ‘मोडालिटी’

काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउनका लागि नयाँ मोडालिटी तयार गरेको छ । यसअघि ६ चरणमा लकडाउन खुकुलो बनाउँदै आएको सरकारले थप छलफल र बहस गर्दै १० चरणमा लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटी तयार गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोभिड–१९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर (आज) आइतबार मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतको भनाइ छ ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने १० चरणको नयाँ मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई परिमार्जन गर्दै १० चरणको नयाँ मोडालिटी अघि बढाएको हो । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रङ्गमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने थियो ।

सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन मोडालिटी ल्याउन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार छलफल गरेको थियो ।

समितिले शनिबार पहिलो चरणमा छलफल गरेको थियो । समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउन छलफल गरेको स्रोतले जानकारी दिएको छ । समितिले आइतबार पनि लकडाउनको मोडालिटीको विषय छलफल गर्ने छ र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ ।

यसअघि जेठ २२ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन ।

सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौंलगायत विभिन्न शहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम शुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमालगायतका शहरमा अधिकांश पसलहरु खुलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् । वीरगञ्जमा स्थानीय प्रशासनले आफैले निर्णय गरेर लकडाउन खुकुलो बनाएका छन् । जसका कारण बजारमा चहल पहल बढेको छ ।

लामो समयदेखि जारी लकडाउनका कारण सर्वसाधरण नागरिकको जनजीवन कष्टप्रद बन्दै गएको छ । लकडाउन नखुल्दा देशभरको व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, रोजगारीका क्षेत्र ठप्प छन् ।