डोल्पा यार्सा संकलन गर्ने १२ जना पक्राउ
डोल्पा, जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा यार्सागुम्बा संकलन गरेको भन्दै १२ जनालाई पक्राउ गरेको छ। प्रशासनले लकडाउनको समयमा यार्सा संकलन रोक लगाएको थियो।
नियम उल्लंघन गरी यार्सा संकलन गर्ने जगदुल्ला गाउँपालिकामा पर्ने टाङ्टुङे पाटनबाट १० जना पुरुष र दुईजना पक्राउ परेका हुन्। पाटनमा लुकिछिपी यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्म, स्थानीय मध्यवर्ती समिति र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ती टोलीले यार्सागुम्बासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ की २१ वर्षीया राजकुमारी सार्की, १४ वर्षीया सिर्जना सार्की, १९ वर्षीय गोविन्द सार्की, १४ वर्षीय गणेश सार्की, १५ वर्षीय युवराज सार्की, १५ वर्षीय कृष्ण विक, ३० वर्षीय दिलबहादुर सार्की, १९ वर्षीय रमेश सार्की, २१ वर्षीय कालीबहादुर सार्की, १८ वर्षीय धनराज विक, २६ वर्षीय देवबहादुर सार्की र १४ वर्षीय दिपक सार्की रहेका छन् ।
उनीहरुबाट ७७ थान यार्सागुम्बा, पाँच थान मोबाइल सेट, पाँचवटा कुटा, एउटा खुकुरीलगायत सामग्री बरामद गरी से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको नेपाली सेनाले जनाएको छ ।